तुलसीपुर, १२ मंसिर/ तुलसीपुर उपमहानगरपालिका—७ स्थित राप्ति शान्ति उद्यान प्रवेशद्वार नजिकै द जंगल रेष्ट्रो सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका—७ का वडाध्यक्ष टोप बहादुर केसीले शुक्रबार सो रेष्ट्रोको उद्घाटन गरेका हुन्।


                                                                                 ADVERTISEMENT


 


त्यहाँ छिर्ने वित्तिकै जंगलमा छिरेको अनुभूति सहितको मनोरञ्जन होस् भन्ने उद्देश्यले रेष्ट्रोको प्रवेशद्वार नजिकै जंगलि जनावरका चित्रहरु भित्ताभरी सजाइएका छन् । जंगलमै पाइने रुखहरुका चित्र कोरिएका छन् ।

अनि प्रवेश गर्ने वित्तिकै विभिन्न परीकारका मेनुहरु राखिएका छन् । स्थानीय उत्पादनका परीकारहरुलाई महत्व दिइएको सो रेष्ट्रोमा विभिन्न नेपाली परीकारहरु समेत उपलव्ध छन् ।

विदेशमा पसिना बगाएर भन्दा स्वदेशमै आफ्नै ठाउँमा केही गरेर देखाउने भन्दै स्थानीय तीन जना युवाहरु मिलेर सो रेष्ट्रो सञ्चालनमा ल्याएका छन् ।

कोभिड—१९ को संक्रमणबीच पनि स्वदेशमै विशेष स्वास्थ्य सावधानी अपनाएर केही व्यवसाय त गर्नै पर्यो भन्ने सोंचका साथ यसमा लगानी गरेको सञ्चालक प्रभात भण्डारीले बताए ।

शान्त, एकान्त एवं जंगलको बीचमै बसेर मनोरम दृश्यका साथ समय बिताएको अनुभूति दिनका लागि सो रेष्ट्रोको परिकल्पना गरी काम सुरु भएको अर्का सञ्चालक अमर रिजालले बताएका छन् । रेष्ट्रो छिर्ने वित्तिकै पानीका फोहराले पाहुनाको स्वागत गरिरहेका छन् ।

मनोरम बगैचा निर्माणको डिजाइनअनुसार काम सुरु भैसकेको छ । पारिवारिक जमघटका लागि भिन्ना भिन्नै कटेजहरु निर्माण गरिएका छन् । सामान्य पार्टिका लागि भिन्ना भिन्नै क्याबिन तथा सामुहिक मनोरञ्जनका लागि साना हल समेत त्यहाँ व्यवस्था गरिएको छ ।

पार्कको बाहिरपट्टि कम्तिमा २ कठ्ठा जग्गा दश बर्षका लागि लिजमा लिएर ती युवाहरुले यो व्यवसाय सुरु गरेका हुन् । तीनै जना लगानीकर्ता स्थानीय हुन् ।

वार्षिक १ लाख २० हजार रुपैया जग्गाको भाडा तिर्ने गरी सञ्चालनमा आएको सो रेष्ट्रोमा हालसम्म करीव ५५ लाख रुपैया लगानी भएको सञ्चालकले बताएका छन् ।

आवश्यकताअनुसार लगानी बढाउंदै सेवा विस्तार गर्ने योजना रहेको पनि उनीहरुको भनाइ थियो । त्यहाँ पारखीहरुका लागि पिजा, सिजलर, पिस्ता, लगायत स्थानीय कालिजदेखि आयातित टर्कीका परीकारहरु समेत पाहुनाहरुलाई उपलब्ध गराइने बताइएको छ ।

पाहुनाहरुका सवारी साधनहरुका लागि सुरक्षित पार्किङको समेत व्यवस्थापन गरिएको सो रेष्ट्रोमा स्वदेशी तथा विदेशी पेयपदार्थ समेत उपलव्ध हुने सञ्चालकले बताएका छन् ।

सञ्चालक सदस्य अमर रिजालको अध्यक्षता, वडाध्यक्ष केसीको प्रमुख आतिथ्यता, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य हेमराज गौतमको विशिष्ठ आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण बसन्त पौडेलले गरेका थिए । स्वागत मन्तव्य प्रभात भण्डारीले व्यक्त गरेका थिए ।

प्रतिकृया

प्रतिकृया