तुलसीपुर
२०-पुस / सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपत्कालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो । डिभिजन वन कार्यालय सल्यानको परिसरमा उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढङ्गले गर्ने र निको भएपछि पुनः वासस्थानमा छोड्ने गरी व्यवस्था गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।


                                                                                 ADVERTISEMENT


 


डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले वन्यजन्तुको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वन्यजन्तु उद्धार केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले जिल्लामा नै पहिलोपटक वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको जानकारी दिए । घाइते अवस्थामा रहेका वन्यजन्तुलाई त्यसै छोड्दा मर्न सक्ने र लोप भएर जाने सम्भावना भएकाले वन्यजन्तुको संरक्षणका लागी यो कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।

डिभिजन वन कार्यालयका अनुसार गत वर्ष मात्रै झण्डै दुई दर्जन वन्यजन्तुको उद्धार गरिएको थियो । कार्यालयका सूचना अधिकारी मनोज शर्मा लम्सालले गत आर्थिक वर्षमा १४ वटा रतुवा, पाँच वटा घोरल, एउटा हाइना गरी २० वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिए । यस्तै चालु आवको साउन महिनायता एउटा घोरल र एउटा वन बिरालो गरी दुई वन्यजन्तुको उद्धार गरिएको उनको भनाइ छ ।

मान्छेलाई देख्दा वन्यजन्तु तर्सिने भएकाले रुख बिरुवाको बीचमा उद्धार केन्द्र राखिएको उहाँको भनाइ छ । घाइते वन्यजन्तुको जङ्गलबाट उद्धार गरेर पशु सेवा कार्यालयको सहयोगमा औषधि उपचार गर्ने र निको भएपछि उसको प्राकृतिक बासस्थानमा लगेर छोडिदिने गरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया