तुलसीपुर
२९-पुस / दाङको तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिले दूरविन विधीबाट अपरेशन सेवा सुरु गरेको छ । हस्पिटलका निर्देशक जीवन भण्डारीका अनुसार बिरामीहरुको माग अनुसार तुलसीपुरमा यो सेवा सुरु गरिएको हो । अब पित्तथैली, एपेन्डिसाईड, पत्थरी, डाईग्नोष्टिक ल्याप्रोसकपी सेवाका लागि जिल्ला बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।
ADVERTISEMENT
सिटि स्क्यान, भिडियो एक्सरे नदेखाएका समस्याहरु समेत यसले सहजै देखाएर उपचार गर्ने उनले बताए । यो सेवा सुरु भएपछि उपचारका लागि पेट चिर्नु पर्ने, घाउ पाक्ने, लामो समय भर्ना हुनु पर्ने अवस्थाको पनि अन्त्य हुने भण्डारीले बताए । ‘हामीले यसबाट उपचार गर्दा पेट चिर्नु पर्ने अवस्था पनि रहदैन, कलम जतिकै सानो मेसिन शरीर भित्र पठाउने समस्या देखिएको स्थानमा त्यसैले उपचार गरी निकाल्न सकिन्छ’, उनले भने ‘यसबाट उपचार गर्न दुई दिन भन्दा बढि लाग्दैन्, र ठूलो घाउ हुने अवस्था पनि आउँदैन ।’ यो सेवा अस्पतालका डा. शुसिल खनियाले प्रदान गर्ने छन् । साथै अस्पतालमा केही समयमा इन्डोस्कपी सेवा समेत सूचारु गर्ने तयारी भैरहेको छ ।
अस्पतालले कल्चरसहितको आधुनिक प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । अहिले अस्पतालले सहुलियत सेवा कार्ड पनि वितरण गरेको छ । उक्त कार्ड लिएपछि सोही व्यक्तिलाई १५ प्रतिशत छुट हुनेछ, भने परिवारका सदस्यलाई १० प्रतिशत छुट हुने निर्देशक भण्डारीले बताए । ५५ बेडको उक्त अस्पतालले बिरामीको माग अनुसार सेवा सुविधा थप गर्दै आएको छ ।