काठमाडौं
१०-फागुन / कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ ।


                                                                                 ADVERTISEMENT


 


मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् । बढ्दो संक्रमणका कारण भारत एकपटक फेरि कोरोनाको एक्टिभ केस भएका विश्वका देशहरुको सूचीमा १५ औं स्थानमा पुगेको छ।

मुख्यमन्त्री ठाकरेले कोरोना संक्रमणबाट जोगिने नियमहरुको पालना नगर्नेहरुलाई सजायँ दिने चेतावनीसमेत दिएका छन् । भारतको महाराष्ट्र कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने राज्यमध्ये एक हो । अहिले फेरि संक्रमणको लहर देखिएपछि सरकारले प्रतिबन्धात्मक उपायहरु पालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ । यो कोरोना संक्रमणको अर्को लहर हो कि होइन भन्ने कुरा ८ देखि १५ दिनभित्रै थाहा हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ ।

भारतको महाराष्ट्रमा कोरोना संक्रमण बढ्दै गएपछि अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन सुरु गरिँदै छ । लकडाउन एक मार्चदेखि लागु हुने छ । संक्रमण बढ्दै गएपछि पुणेमा रात्रीकालीन कर्फ्यु लगाइएको छ । भारतका ९१ जिल्लामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । तीमध्ये ३४ जिल्ला महाराष्ट्रका र १६ जिल्ला कर्नाटकका छन् ।

यसैगरी हरियाणा, पन्जाब, छत्तीसगढ, गुजराज र बिहारका ४-४ जिल्ला तथा केरलाका दुई जिल्लामा पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । यी जिल्लाहरुमा दिनहुँ कोरोना संक्रमणबाट मुक्त हुनेहरुको भन्दा नयाँ संक्रमितको संख्या धेरै देखिएको छ । बढ्दो संक्रमणका कारण भारत एकपटक फेरि कोरोनाको एक्टिभ केस भएका विश्वका देशहरुको सूचीमा १५ औं स्थानमा पुगेको छ ।

भारतको केन्द्र सरकारले कोरोना संक्रमण दिनहुँ बढ्दै गएका राज्यहरुलाई कडा निगरानी, परीक्षण र कोरोना खोपमा ध्यान केन्द्रित गर्न निर्देशन दिएको छ ।

प्रतिकृया

प्रतिकृया