रुकुम पूर्व
२१-फागुन / रुकुममा पानी नभएको गाउँमा स्थानीय सरकारले विद्युतीय घट्ट निर्माणका लागि अनुदान दिएको छ । भूमे र सिस्ने गाउँपालिकाले पानी नभएको गाउँका लागि विद्युतीय घट्ट सञ्चालनका लागि अनुदान दिएको हो ।


                                                                                 ADVERTISEMENT

 


यी दुई गाउँपालिकाका अधिकांश बस्तीहरु उच्च स्थानमा छन् । पानीको अभाव भएकाले अन्न कुटानी पिसानी गर्न बोकेर टाढाका घट्टमा लैजानु पर्ने बाध्यता रहेको छ । नागरिकको उक्त समस्यालाई मध्यनजर गरी भूमे र सिस्ने गाउँपालिकाले विद्युत् पहुँचमा रहेका ठाउँमा विद्युतीय घट्ट निर्माणका लागि अनुदान उपलब्ध गराएको छ ।

सिस्ने–२ दत्कुनामा हालै मात्र गाउँपालिकाको पाँच लाख रुपैयाँ अनुदानबाट सामुदायिक विद्युतीय घट्ट निर्माण गरिएको छ । यसअघि स्थानीयहरू घट्ट जान दिनभरको समय खर्चिन बाध्य थिए । सर्वसाधारणको सजिलोका लागि घट्ट बनाइएको वडाध्यक्ष जीवन केसीले बताए । बेँसी क्षेत्र नायगाडमा रहेका घट्टमा पुगेर पालो कुर्ने र फर्कँदा दिनभर लागे पनि अब सजिलो भएको वडाध्यक्ष केसीले बताए ।

घट्टमा अन्न पिसानी गरे बापत प्रतिपाथी १० रुपैयाँ लिने गरिएको छ । त्यसको रेखदेख तथा व्यवस्थापनका लागि एक जना मान्छे राखिएको छ। दैनिक बिहान ११ देखि ३ बजेसम्म मात्रै घट्ट सञ्चालन गर्ने गरिएको छ । यस अवधिमा २ देखि ३ मुरीसम्म अन्न पिसानी हुन्छ । भूमे–३ क्याङ्सीका एक युवा हिराबहादुर रोका मगर विद्युतीय घट्ट सञ्चालनबाट व्यावसायिक बन्दै छन् । उनले गत आर्थिक वर्ष गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा विद्युतीय घट्ट क्याङ्सीमा निर्माण गरेका हुन् ।

रोकाले मात्र नई गत आर्थिक वर्षमा भूमे–६ महतमा पनि एक युवाले गाउँपालिकाको ५० प्रतिशत अनुदानबाटै विद्युतीय घट्ट निर्माण गरेका छन् । सबै सिस्टम तथा अनाज पिस्ने सामग्री पानी घट्टकैभए त्यसलाई विद्युतबाट खलाइने रोकाले बताए । विद्युत खपत बापत मासिक दुई हजार ८०० रुपैयाँसम्म विद्युत् बिल आउने गरेकोमा मासिक १८/१९ हजार रुपैयाँ आम्दानी भइरहेको रोकाले जानकारी दिए । ६०/७० घरधुरी रहेको क्याङ्सी गाउँका स्थानीय यसअघि अन्न पिसानी गर्न टाढा धाउन बाध्य थिए ।

गत आर्थिक वर्षमा गाउँपालिकाको कृषि शाखामा दुईवटा विद्युतीय घट्ट माग आएकोमा यस आर्थिक वर्ष पाँचवटा माग आएको कृषि शाखाका नाप्रास विशाल पुन मगरले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया