NEW YEAR 2078 – GREETINGS
          


घोराही
३०-चैत/ घोराहीका गौतम परिवारले आफ्ना बुवाआमाको स्मृतिमा ‘मेघ-चन्द्र स्मृति’ अक्षयकोष स्थापना गरेका छन् । स्वर्गीय बुवा मेघबहादुर गौतम र स्वर्गीय आमा चन्द्रकुमारी गौतमको स्मृतिमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी छोराबुहारी दामोदर गौतम, मञ्जु शर्मा गौतम र अर्जुन गौतम, लक्ष्मी केसी गौतमले संयुक्त रुपमा नेपाल अपांग संघ खगेन्द्र नवजीवन पुनस्थापना केन्द्रमा सोमबार एक लाख एक सय एक रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

केन्द्रका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय गौतम आमाबुवाका अक्षयकोष स्थापनाकर्ताका तर्फबाट जेठा छोरा दामोदर गौतमले बुवाले आफु जीवित हुँदा सामाजिक क्षेत्रमा गरेको योगदानको पदचाप पछ्याउँदै केही भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आमाबुवाको सम्झनामा अक्षयकोष स्थापना गरिएको बताए । गत वर्षको चैत्र ११ गते ८२ वर्षको उमेरमा आमा चन्द्रकुमारी गौतमको निधन भएको वार्षिकी तिथिका अवसरमा सोमबार गौतम परिवारले ‘मेघ–चन्द्र स्मृति’ अक्षयकोष स्थापना गरेको हो । अक्षय कोष स्थापना गर्दै गौतम परिवारले केन्द्रका अध्यक्ष अधिकारीसहितको टोलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको छ ।

‘बुवाले दिनदुखीको सेवा गरेको, खान नपाएकाहरुलाई आफ्नो छाक काटेर खान दिएको, भोकाको पेट भरेको, कपडा नभएकालाई कपडा दिएको मलाई याद छ, उहाँको त्यो कर्मले हामीलाई केही न केही गर्नुपर्छ भन्ने लागेर अक्षयकोष स्थापना गर्ने निर्णयमा पुगेका हौँ’, उनले भने । केन्द्रमा स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजबाट त्यहाँ बस्दै आएको अशक्त, असहाय, अपांग भएकाहरुको गुजारा चलाउन सहयोग पुग्नेछ ।

सामाजिक काम गरेर बुवाआमाले देखाएको बाटोमा आफुलाई समाहित गरेको भन्दै केन्द्रका अध्यक्ष अधिकारीले गौतम परिवारलाई धन्यवाद दिए । सबैको साथ सहयोग र सत्कर्मले सबैको भलो हुने भन्दै असल काममा सबैले आफ्नो क्षमता अनुसार अग्रसर हुनु पर्ने उनको भनाइ छ । केन्द्रका निवर्तमान अध्यक्ष श्रीमन न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुमा चौधरीले गरेकी थिइन् ।

प्रतिकृया

प्रतिकृया