काठमाडौं
१-साउन/ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस उत्पत्तिबारेको अनुसन्धानका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गरेको बीबीसीले जनाएको छ ।


                                                                         बिज्ञापन
   



भाइरसको उत्पत्तिबारेमा डब्ल्यूएचओले वुहानमै पुगेर गरेको पहिलो चरणको अनुसन्धान गएको फेब्रुअरीमा सकिएको थियो । त्यस बेला भाइरस प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त कम रहेको भन्दै चमेरामा उत्पत्ति भएर अन्य जीव हुँदै मानिसमा सरेको हुन सक्ने निष्कर्ष निकालेको थियो । तर अमेरिका, बेलायतलगायतका देशले भाइरस जीवबाटै आएको वा प्रयोगशालाबाट चुहिएको भन्नेबारेमा थप अनुसन्धान आवश्यक रहेको बताइरहेका छन् ।

डब्ल्यूएचओका प्रमुख गेहब्रेयससले पनि आफू स्वास्थ्यकर्मी भएको र दुर्घटना हुन सक्ने सम्भावनाबारे थाहा भएको भन्दै वुहानको प्रयोगशालाबाट स्पष्ट सूचना चाहिएको बताएको बीबीसीले जनाएको छ । उनले आफूहरूलाई महामारी सुरु हुनुभन्दा अगाडिको र सुरु भएको बेलाको बिरामीहरूको अप्रशोधित तथ्याङ्क चाहिएको पनि बताए । अघिल्लो अनुसन्धानमा चीनले विश्व स्वास्थ्य सङ्गठनको टोलीलाई त्यो तथ्याङ्क दिएको थिएन ।

यो भनाइले डब्ल्यूएचओमा पनि कोरोना भाइरस प्रयोगशालाबाट चुहिएको हुन सक्ने आशङ्का कायम रहेको बुझिन्छ ।

प्रतिकृया

प्रतिकृया