सुशीला ओली, घोराही
१८-भदौ/ घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा बुधबार बेलुका एक्कासी भेल उर्लियो । रात छिप्पिदै थियो, खोलामा भेल पनि बढ्दै गयो । रातको पौने १० बजेको थियो । खोलामा भेल बढ्दै गएकाले दुबैतर्फ गाडीहरुको लाईन थियो । भेल ठूलो भएका कारण खोला पार गर्न सकिदैन भनेर चुनढुंगा बोकेका टिप्पर समेत रोकिएका थिए । त्यही क्रममा गोग्ली चोकतर्फबाट कार आयो । धेरैले कार चालकलाई भेल ठूलो भएकाले पार गर्न सकिदैन भन्दै गाडी खोलामा नहाल्न भने । तर कार चालक घोराही १३ का नरबहादुर पुनले कारलाई खोलामा हाले । भेलले कारलाई बगायो तल्लो स्ल्यापमा पुरायो । त्यसपछि कारलाई अब बचाउन सकिदैन भन्ने मानेर सायद चालकले ढोका खोलेर निस्के ।


                                                                         बिज्ञापन
   



जव कारलाई खोलाले बगायोभित्र बसेका घोराही १४ का ३३ बर्षिया राधा कुँवरले श्रीमान् रमेश कुँवरलाई फोन गरेर आफूहरुलाई सिस्नेखोलाले बगाएको र छिट्टो बचाउन आग्रह गरिने । करिब ७ मिनेट रमेशसँग कुरा गरेका राधाको फोन कट्यो । त्यसपछि फोन सम्पर्क हुन सकेन र लगत्तै रमेशले ससुरा जगत श्रेष्ठलाई फोन गरेर घटना सुनाए । हतारमा उनीहरुले घटना स्थलमा गए रातको सवा १० भैसकेको थियो । अन्धकार र खोलामा भेलको सुसाई मात्रै थियो । मानिसहरु खोज्न न भेलमा पस्न सकेका थिए । पछि सुरक्षाकर्मीहरु आएपछि खोजी थालियो र केही तल गाडीभित्रबाट तिनै राधा कुँवर र उनकी दिदी ३६ बर्षिया शुसिला श्रेष्ठको शब गाडीबाट निकालियो ।

भेलले गाडीलाई काचाककुचुक परेको छ । गाडी बगाउँदै गर्दा भेलले अन्य दुईजनालाई बेपत्ता बनायो । घोराही १३ का रितामाया पुन र १४ का विमला केसीको शब विहिबार बिहान घोराही ३ बेलुवामा शब भेटियो । मृतक शुसिला र राधा दुई दिदीबहिनी हुन् । उनीहरु घोराही उपमहानगरपालिका १६ का वडा सदस्य जगतबहादुर श्रेष्ठका छोरी हुन् ।

चालकको मूर्खता र ठेकेदारको लापर्वाही
पुल निर्माणमा चरम ढिलाई, लापरवाही र चालकको मूर्खताका कारण अकालमै ती महिलाहरुले ज्यान गुमाउनु प¥यो । करिब-करिब पुल निर्माणको काम सकिन लागेको छ तर पछिल्लो समयमा काम नै नहँुदा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यताले दुर्घटना भएको हो । बुधबार राती नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ०३-०१-०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो । पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका साईट प्रतिनिधी यज्ञ खत्रीलाई पटक-पटक लिखित र मौखिम निर्देशन दिदा समेत काम नहुँदा मानविय क्षति हुन पुगेको स्थानीय प्रशासनल जनाएको छ ।

गएको असार २८ गते पुल निर्माण स्थलमै खत्रीलाई उपस्थित गराई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एकमहिनाभित्र पुलमा गाडी सञ्चालन गर्न सकिने प्रतिवद्धता जनाएको फोटो अपलोड गरेका थिए । त्यसपछि साउन २५ मा पनि जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र काट्दै निज खत्रीलाई तत्काल पक्राउ गरेर दाङ प्रशासनमा उपस्थित गराउन प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निर्देशन दिएका थिए ।

योबीचमा निर्माण कम्पनीले कुनै पनि काम गरेन र चालकले मूर्खता देखाउँदा बुधबार रातीको घटना घटेको छ । पुलको दुबैतर्फको सडक जोड्ने भागमा मात्रै काम गर्नुपर्ने छ । तर निर्माण व्यवसायीले काम नगर्दा गाडीहरु खोलाबाट पार गराउनुपर्ने बाध्यता रहेको छ । निर्माण व्यवसायीका कुनै पनि प्रतिनिधी अहिले सम्पर्कमा नरहेको प्रजिअ कुरुम्बाङले बताए । चालकको खुट्टा भाँचिएको र प्रतिष्ठानमा उपचार भैरहेको छ ।

प्रतिकृया

प्रतिकृया