काठमाडौं
४-कात्तिक/ बागमती प्रदेशको प्रदेश सभा बैठक आज बिहीबार बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

तर बैठकमा सत्तारुढ नेकपा (एमाले)ले भने उपस्थित नहुने जानकारी दिएको छ । पालिका अधिवेशनको तयारीमा रहेको भन्दै एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ । गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य केही दिनमै प्रदेश सभामा अल्पमतमा परेकी थिइन् । तत्कालीन एमाले १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले असोज २३ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । उक्त प्रस्तावबारे आज छलफल र मत विभाजन हुने गरी बैठक बोलाइएको हो । १०९ जना प्रदेश सभा सदस्य रहेका बागमती प्रदेशमा विश्वासको मत पाउन ५५ सांसद आवश्यक हुन्छ तर सत्तारुढ एमालेसँग ४३ जना सांसद मात्रै छन् ।

विपक्षी गठबन्धनको नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३ जना रहेका छन् । यस्तै विवेकशील साझाका तीन, राप्रपा र नेपाल मजदुर किसान पार्टीका दुई÷दुई र जनता समाजवादीका एक जना सांसद रहेका छन् ।

प्रतिकृया

प्रतिकृया