काठमाडौं
१३-कात्तिक/ सरकारले अफगानिस्तानबाट थप ३२ जना नेपालीलाई उद्धार गरेर आज शनिबार काठमाडौं ल्याएको छ । शनिबार उद्धार गरेर ल्याएका ३२ जनासहित अहिलेसम्म अफगानिस्तानबाट नौ सय ४० जना नेपालीलाई स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज नेपाल आएकाहरु श्रम स्वीकृति नलिएर रोजगारीको लागि अफगानिस्तान गएका रहेको मन्त्रालयले जनाएको छ । राजधानी काबुलसहित विभिन्न ठाउँमा छरिएर बसेका उनीहरुलाई एकै ठाउँमा जम्मा पारेर आज काठमाडौं ल्याइएको हो । अब संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायमा काम गर्ने केही नेपाली मात्रै अफगानिस्तानमा रहेको मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघका निकायले अफगानिस्तानमा रहेका नेपालीलाई कुनै खतरा नरहेको जानकारी दिँदै कुनै जोखिम भएमा तत्कालै फर्काइने जानकारी दिएको पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अब अफगानिस्तानमा कुनै पनि नेपाली उद्धारको पर्खाइमा नरहेको बताए । तालिबानले अफगानिस्तान कब्जा गर्ने तयारी गर्नासाथ संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जापान, विभिन्न रोजगारदाता कम्पनी लगायतको सहयोगमा नेपालीलाई उद्धार गरिएको भन्दै मन्त्रालयले नेपालीको उद्दारमा सहयोग प¥याउने सबैलाई धन्यवाद पनि दिएको छ ।

प्रतिकृया

प्रतिकृया