काठमाडौं
१४-कात्तिक/ विश्वका प्रमुख अर्थतन्त्र रहेका देशले व्यवसायको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । बहुराष्ट्रिय कम्पनीले कम कर प्रावधानका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ताका माझ कर्पोरेट करसम्बन्धी सम्झौता अनुमोदन गरिएको हो ।

इटलीको रोममा चलिरहेको जी-२० सम्मेलनमा सहभागी नेताहरुले यो सम्झौतामा सहमति जनाएका हुन् । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता सन् २०२३ देखि लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तन र कोरोना महामारी पनि छलफलकै केन्द्रमा छ । कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो। १९ वटा देश र युरोपेली सङ्घ सदस्य रहेको जी-२० समूहको सम्मेलनमा दुई जना नेता भने भौतिक रुपमा सहभागी छैनन् ।

चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भर्चुअल सहभागिता जनाएका छन् । स्कटल्यान्डको ग्लास्गोमा सुरु हुन लागेको विश्व जलवायु परिवर्तन सम्मेलन कोप-२६ सम्मेलन अघि जी-२० देशहरूको सम्मेलन भएको हो ।

प्रतिकृया

प्रतिकृया