हेटौंडा
२१ कार्तिक/ देउसीभैलो खेलिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको गौरबाट हेटौंडा हुँदै काठमाडौ जाँदै गरेको प्रदेश–३–००१–ख–०९३६ नम्बरको बसले गए राति ११ बजे ठक्कर दिँदा स्थानीय २० वर्षीय सुरज विष्ट, ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

बसको ठक्करबाट ८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको र उपचार भइरहेको डीएसपी रिमालले जानकारी दिए । मकवानपुर प्रहरीका अनुसार देउसीभैलो खेल्ने समूह पनि सडकसम्मै आएको देखिएको छ ।

सडकमै आइपुगेर देउसीभैलो खेलिरहेको अवस्थामा विपरीत दिशाबाट आएर बसले ठक्कर दिएको डीएसपी रिमालले बताए । ‘देउसीभैलो खेल्ने समूह पनि सडकसम्म आएर खेलिरहेको पाइयो । तर, बसले विपरीत दिशाबाट गएर ठक्कर दिएको रहेछ’, उनले भने ।

बसको ठक्करले दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयको भिडले बसमा आगजनी गरेका छन् । बस जलेर नष्ट भएको छ । स्थानीयले पूर्व–पश्चिम राजमार्ग पनि बन्द गरेका थिए । प्रहरीले स्थानीयसँगको समन्वयमा गए राति नै राजमार्ग सञ्चालनमा ल्याएको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् । स्रोत: शिलापत्र

प्रतिकृया

प्रतिकृया