काठमाडौं
२०-मंसिर/ पहिलो पटक दक्षिण अफ्रिका र बोत्स्वानामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टले वैज्ञानिक र जनस्वास्थ्यका अधिकारीहरुलाई चिन्ता बढाएको छ । असामान्य रूपमा अत्यधिक मात्रामा भएको म्युटेसनका कारण उक्त भेरियन्ट फैलिने र भइरहेका खोपहरु प्रभावहीन हुने खतरा बढेको वैज्ञानिकहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भएको जनाएको छ । भेरियन्टबारे धेरै जानकारी नभए पनि यसले विश्वव्यापी रुपमा पार्ने जोखिम उच्च रहेको बताइएको छ । अन्टार्कटिकाबाहेकका सबैजसो महाद्विपमा यो भेरियन्टका संक्रमित फेला परेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावितमध्येको देश अमेरिकामा यो भेरियन्ट कति मात्रामा फैलिन्छ अहिले नै भन्न धेरै छिटो हुन्छ । डिसेम्बर ४ सम्म संक्रमितहरु दर्जनभन्दा धेरै राज्यमा देखिएका छन् । तर, विज्ञहरूका अनुसार आगामी दिनमा यो संख्या बढ्ने निश्चितजस्तै छ ।

त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा यो भेरियन्टबाट संक्रमित पाइएका पहिलो व्यक्ति नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट सन फ्रान्सिस्को फर्किएका थिए। उनलाई नोमेम्बर २९ मा संक्रमण पुष्टि भएको थियो । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको यो भाइरसमा सबैभन्दा धेरै ५५ म्युटेसन भएको पाइएको छ । ३२ म्युटेसन यसको ‘स्पाइक प्रोटिन’मा देखिएको छ । यो भेरियन्ट बढी संक्रामक हुने र प्रतिरक्षा प्रणालीबाट बचेर शरीरमा हानी गर्ने क्षमता देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘चिन्ताको विषय’ भन्नुमा पनि यसमा देखिएको संक्रामक गुण धेरै भएरै हो। तर, अहिलेसम्म यसको ठोस प्रमाण पाइएको छैन । जबसम्म अनुसन्धानको परिणाम आएर हाम्रो शरीरमा भएको जिनोम (जिनहरुको समूह) तथ्यांक थाहा हुँदैन, तबसम्म यो भेरियन्टबाट अत्यधिक सतर्क हुने वा सतर्कता कम गर्ने विषय स्पष्ट हुँदैन ।

यकिन जानकारीविनै फैलियो त्रास
ओमिक्रोनको खोजले विश्वभर नै त्रास सिर्जना गरेको छ । धेरै देशले दक्षिण अफ्रिकासँगै इजरायल, जापान र मोरोक्कोजस्ता देशहरूबाट हुने उडान र विदेशी यात्रुमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । जनस्वास्थ्य विज्ञहरूले भने यो भेरियन्टबारे केही जानकारी नभएकाले अहिले नै धेरै चिन्ता गर्नु उचित नहुने बताएका छन् । यसको फैलावट र संक्रमण दरबारे प्रमाण नहुँदा यसअघिका भेरियन्टभन्दा कम वा धेरै जोखिमयुक्त छ भन्ने थाहा नभएको उनीहरुको तर्क छ । अमेरिकी विज्ञहरुले पनि अमेरिकामा पुराना भेरियन्टभन्दा अत्यधिक असर गरेको डेल्टाजस्तै यो भेरियन्ट जोखिमयुक्त भए/नभएको स्पष्ट जानकारी नभएको बताएका छन् ।

डेल्टा भेरियन्ट अघिल्ला भेरियन्टभन्दा निकै संक्रामक थियो । खोप नलगाउनेहरुमा यसले धेरै असर गरेको पनि केही तथ्यांकहरुमा देखिएको थियो । तर, यसले खोप प्रभावहीन बनाउने वा बढी घातक हुने थोरै मात्र प्रमाण भेटिएका छन्। ओमिक्रोनबारे त्यति जानकारी पनि हासिल भएको छैन । वास्तवमा दक्षिण अफ्रिकामा कोरोना भाइरसको यो भेरियन्टका संक्रमितहरुको संख्या निरन्तर उकालो लागेपछि विश्वभरि चिन्ता छाएको हो । दक्षिण अफ्रिकामा अन्य अफ्रिकी देशमा जस्तै खोप धेरैलाई प्रभावकारी रूपमा नलगाइनु र सार्स-कोभ-२ को लागि आवश्यक ‘जिनोमिक निगरानी प्रणाली’ राम्रो भएका देशमध्येमा एक दक्षिण अफ्रिका पनि हुनुले यो भेरियन्ट पत्ता लाग्नु आश्चर्य होइन । दक्षिण अफ्रिकामा यो भेरियन्ट गौतेन्ग राज्यमा पाइएको थियो ।

ओमिक्रोनको संक्रमण दर र यसको जोखिमबारे उपयुक्त जानकारी नहुँदा यसको संक्रमणबाट बच्न पुराना भेरियन्टमा अपनाइएकै उपायहरु अपनाउनु पर्ने हुन्छ । विगतमा देखिएका भेरियन्टसँग जुध्न प्रयोग भएका मास्कको प्रयोग, भौतिक दूरी कायम गर्ने र खोप लगाउने लगायत उपाय अहिलेका लागि सुरक्षित हुने मापदण्ड हुन् ।

विज्ञहरु किन चिन्तामा छन् ?
कोरोना भाइरस मानिसको शरीरभित्रै रहँदा नयाँ म्युटेसनहरु भइरहन्छन् । धेरैजसो म्युटेसनले खास हानी गर्दैन। तर, कहिलेकाँही हुने म्युटेसन भाइरसलाई मानिसहरुबीचमा फैलिन सक्ने र शरीरको प्रतिरक्षा प्रणालीलाई नै असफल बनाउन सक्ने किसिमले हुन्छ । दक्षिण अफ्रिकाका अनुसन्धाताहरुले भाइरसको यो भेरियन्टको ‘स्पाइक प्रोटिन’मा ३० भन्दा धेरै म्युटेसन भएको पाइएको भन्दै चिन्ता जनाएका थिए । भाइरसको सतहमा रहेको यो प्रोटिन कोशिकाहरुसँग घुलमिल भएर अर्को मानिसको शरीरमा प्रवेश गर्न सहायता दिन्छ। बोट्स्वानामा लिइएका केही नमूनामा अन्य भाइरसमा नदेखिएको ५० वटासम्म म्युटेसन भएको पाइएको थियो ।

शरीरको प्रतिरक्षा प्रणालीले कोभिड–१९ को संक्रमणसँग जुध्दा एन्टिबडीले निशानामा राख्ने मुख्य पदार्थ हो, ‘स्पाइक प्रोटिन’ । ओमिक्रोनमा यो मात्रामा म्युटेसन पाइनुले संक्रमण वा खोपमार्फत शरीरमा विकास भएको एन्टिबडीबाट बच्न सक्ने डर देखिएको छ । अहिले पनि चिन्ता पैदा गरेका ‘बेटा’ र ‘मु’जस्ता कोरोनाका पुराना भेरियन्टहरुलाई सम्झिन आवश्यक छ। यिनीहरू शरीरको प्रतिरक्षा प्रणालीसँग थोरै मात्रामा मात्र बच्न सफल भएका थिए। यी भेरियन्टमा भएको कम संक्रामक फैलावटका कारण कहिल्यै पनि विश्वव्यापी डरको विषय बनेका थिएनन् ।

के खोपले काम गर्दैन ?
अब खोपले मात्र कोरोना भाइरसबाट विश्वभरिका मानिसलाई बचाउने आशा गरिएको छ । तर, भाइरसका नयाँ भेरियन्टलाई लिएर बेला–बेला चिन्ता जनाउने गरिएको छ। अहिले पनि ओमिक्रोन भेरियन्टविरुद्ध अहिलेसम्म बनेका खोपले काम नगर्ने चिन्ता कतिपयको छ । तर, वैज्ञानिकहरु ओमिक्रोनको संक्रमणबाट केही मात्रामा भए पनि खोपले रक्षा गर्ने अनुमान गर्छन् । शरीरमा एन्टिबडीको विकास गर्ने मात्रै नभएर भाइरसले संक्रमित बनाएका कोशिकाहरुसँग जुध्न रक्षात्मक कोशिकाको विकास गर्नमा पनि खोपको भूमिका हुन्छ । स्पाइक प्रोटिनमा देखिएको म्युटेसनले यो प्रक्रियालाई असर गर्दैन, जसकारण धेरैजसो विज्ञले गम्भीर बिरामी र मृत्यु हुनबाट खोपले बचाउनेमा विश्वास गरेका छन् ।

खोप लिएको ६ महिना वा सोभन्दा बढी हुँदा प्रतिरक्षा कम हुने भन्दै केही जनस्वास्थ्य विज्ञले भने एन्टिबडीको मात्रामा वृद्धि गर्न खोपको ‘बुस्टर’ लिन पनि सुझाब दिएका छन् । अमेरिकी राष्ट्रिय संक्रामक रोग संस्थानका प्रमुख डा. एन्टोनी फाउसीले त्यहाँका नागरिकलाई बुस्टर खोप लिन सुझाव दिए । गम्भीर रोगहरूबाट थप रक्षा गर्ने भएकाले बुष्टर लिनु आवश्यक रहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘हामीले पटक पटक भनिसकेका छौं र यो दोहो¥याउनु पनि पर्छ। तपाईंले खोप लगाएको छैन भने लगाउनुहोस् । लगाएको छ भने बुस्ट गर्नुहोस् । मास्क लगाउने, भिडबाट पर बस्ने र भेन्टिलेसन नभएको ठाउँमा नबस्ने जस्ता सुरक्षाका उपायहरू पनि अपनाउनुहोस् ।’  -स्वास्थ्यखबर

प्रतिकृया

प्रतिकृया