घोराही
२१ मंसिर/ दाङको घोराहीमा रहेको बुद्ध हस्पिटलले पछिल्लो समय प्रोस्टेटको अपरेसन गर्दै आएको छ । विभिन्न जटिल प्रकृतिका अपरेशन समेत सफल तरिकाले गर्दै आएको बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालीले पछिल्लो समय प्रोस्टेटको अपरेशन पनि गर्दै आएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिएका छन ।

पश्चिम नेपालमै यस्तो अपरेशन न्यून मात्रामा हुने गरेको छ । दाङ र आसपासका जिल्लाका नागरिकहरुलाई प्रोस्टेटको अपरेशन सेवा जिल्लामै पहिलो पटक बुद्ध हस्पिटलले प्रदान गर्न थालेको छ ।

लामो समयदेखी मृगौला, पिसाव थैली, पिसाव नलीमा परेको पत्तथरीको लेजर प्रविधिबाट सफल अप्रेशन गर्दै आएको हस्पिटलबाट पछिल्लो केही दिन यता टियूआरपी मार्फत् १५ जनाको प्रोस्टेटको सफल अपरेशन गरिएको सर्जन डा. रमेश बस्नेत जानकारी दिएका छन ।

प्रोस्टेटको लक्षण र उपचार
पुरुषहरुमा ४० वर्षपछि प्रोस्टेट वृद्धि हुँदै जान्छ र मूत्रनलीमा अवरोध उत्पन्न गर्छ। ग्रन्थी वृद्धि भएमा पिसाब फेर्दा अन्तमा धारा सानो हुन्छ। थोपाथोपा वा तुरुक्क गरेर अन्तको पिसाब निस्कन्छ। अर्थात् पिसाब फेरिसकेपछि पुरा सन्तुष्टि नहुनु प्रोस्टेटको लक्षण हुन सक्छ। लामो समयसम्म ग्रन्थी बढ्दै गए त्यसको बीच भाग बढेर मूत्र थैलीको घाँटीमै अवरोध भई पिसाब फेर्न निकै कन्नुपर्ने, पिसाब लागेर जाँदा पनि तुरुन्तै पिसाब नआउने र एकछिन कुरेमात्र पिसाब खुल्ने हुन्छ।

प्रोस्टेट ग्रन्थीको सबैभन्दा बाहिर रहेको ७५ प्रतिशत ठाउँ ओगट्ने भागमा मुख्यतया क्यान्सर उत्पन्न हुने गर्छ । नेपालमा पनि हाल दिनप्रतिदिन धेरै पुरुषमा प्रोस्टेट क्यान्सर पहिचान हुँदै आएको छ। प्रोस्टेटको मध्य भागले २० प्रतिशत ठाउँ लिन्छ। आश्चर्यलाग्दो प्रक्रिया के हुने गर्छ भने प्रोस्टेटका यी दुई ठूला भागमा करिब ३० वर्षको उमेरपछि प्रोस्टेट बढेर ९५ प्रतिशतसम्म ठाउँ ओगट्छ। यसबेला ती ठूला भाग थिचिएर छेउतिर बोक्राको रूप धारण गर्न पुग्छन्।

यो सबैभन्दा सानो अन्तर्कालीन भाग बढ्ने प्रक्रियामा मूत्रनलीको बीचको प्वाल पनि साँघुरिँदै जान्छ। फलस्वरूप मूत्र प्रवाहमा अवरोध उत्पन्न हुन्छ। ग्रन्थी बढ्दै गएपछि यसको तौल जति भए पनि, पिसाब थैलीको घाँटीलाई नै यसले बिर्कोको रूपमा थिच्न सक्ने भएकाले मूत्र प्रवाहमा कल्पना गरेभन्दा बढी नराम्रो असर गर्छ।

प्रोस्टेट ग्रन्थीको मध्य भाग बढेर मूत्र अवरोध देखा परेमा त्यसको एकमात्र प्रभावकारी उपचार शल्यक्रिया हो। औषधि उपचारबाट यस्तो ग्रन्थीलाई मूत्र सञ्चालनमा अवरोध गर्नबाट रोक्न सकिन्छ कि सकिन्न भनेर गरिएका अन्तर्राष्ट्रिय अनुसन्धानले खासै उपलब्धि दिन नसक्ने पुष्टि गरिसकेका छन्। त्यसैले औषधि उपचारमा अल्झनु भनेको शल्य उपचारलाई आधारहीन रूपमा ढिला गर्नु हो।

यस्तो ढिलाइले मूत्रथैलीको मांसपेशी बढी कमजोर हुने गर्छ। फलस्वरूप थैलीमा थुप्रो पिसाब बाँकी रहन्छ। ननिख्रेको पिसाबको मात्रा बढ्दै गएमा दुवै मूत्रनली र मृगौलाको कार्य क्षमता ह्रास हुँदै जान्छ। बिरामीले यस्तो अवस्थामा शल्य उपचार नगर्नु भनेको टार्न सकिने कष्टलाई जानीजानी ग्रहण गर्नु हो ।

प्रोस्टेट ग्रन्थीको शल्य उपचार परम्परागत तरिकाले चिरेर वा आधुनिक औजारको सहयोगबाट विद्युत् वा लेजरको प्रयोगबाट छालामा कतै घाउ नपारेर नै गर्न सकिन्छ ।

प्रतिकृया

प्रतिकृया