सल्यान
२९-मंसिर/ सल्यानको कपुरकोट गाउँपालिकामा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रमको सामाजिक परिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत सन् २०२१ मा भएका गतिविधिहरुको उपलब्धी, भएका सिकाई र आएका चुनौतिहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउनका लागि सामाजिक परिक्षण कार्यक्रम सञ्चालन गराएको हो ।

संस्थाको पारदर्शिता र जवाफदेहीता अभिवृद्धि गर्न, नागरिक र स्थानीय सरकारवीच समन्वय सहकार्य गरी आपसी सम्बन्धलाई मजबुत बनाई राख्न सामाजिक लेखा परिक्षण गरिएको समाजका जिल्ला कार्यक्रम संयोजक गुमानसिंह नेपालीले जानकारी दिए । सामाजिक लेखा परिक्षण कार्यक्रमका प्रमुख अतिथी कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सुशासनविना दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न नसकिने भएकाले सुशासन अभिवृद्धिमा सबै लाग्नु पर्नेमा जोड दिए । यसका लागि परियोजनाले महत्वपूर्ण सहयोग पुर्याएको उल्लेख गर्दै उनले सबै पक्षसंग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, वडा अध्यक्षहरु, विषयगत शाखा कार्यालय प्रमुखहरु, सामुदायीक समूहका सदस्यहरु लगाएतको सहभागीता थियो । परियोजना अन्तर्गत सन् २०२१ मा कपुरकोट गाउँपालिकामा सामुदायिक समुहका सदस्यहरुका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम, नेतृत्व विकास तथा वकालत सम्बन्धि तालिम, नेतृत्व विकास तालिम, योजना तर्जुमाका चरण, क्रियाकलाप संचालन र अनुगमन सम्बन्धि अभिमुखीकरण गरिएको संयोजक नेपालीले जनाए ।

यस्तै युवा सहभागिताका लागि युवारुलाई लघु उद्यम तालिम, स्थानीय तहको शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी तथा सरसफाई सम्बन्धि योजना र नीतिहरुको बारेमा छलफल तथा अन्तक्रिया, स्थानीय सरकार र नागरिकहरु विच सहभागिता मूलक नीति निर्माण प्रक्रिया सम्बन्धी बैठक पनि सञ्चालन गरिएको उनले जनाए । सामुदायिक सुशासन, जवाफदेहिता तथा पारदर्शिता सवलीकरण मार्फत नागरिक तथा स्थानीय सरकार बीच हभागितामूलक सहयोगात्मक सम्बन्ध स्थापना गर्ने उद्देश्ययको साथ सल्यानका ५ स्थानीय तहमा सुशासनमा नागरिक सहभागीता कार्यक्रम सञ्चालनमा छ ।

स्थानीय सेवा प्रवाहमा सुधार तथा स्थानीय आवश्यकताहरुलाई सम्बोधन गर्ने नीति, कार्यक्रम निर्माणका लागि स्थानीय सरकार, प्रादेशिक सरकार तथा मन्त्रालयबीच सहकार्य र नियमित सम्बाद स्थापना गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

प्रतिकृया

प्रतिकृया