घोराही तुलसीपुर सडक फराकिलो पार्ने र सुरक्षित बनाउने (फोरलेन) को काम २०७६ साल असारमा शुरु भई २०७८ वैशाखमा सम्पन्न हुनुपर्ने थियो । तर अहिले सम्म हेर्दा भौतिक भन्दा वित्तीय खर्च धेरै भएको छ । फोरलेनको काममा १४ प्रतिशत वित्तीय र ७ प्रतिशत भौतिक प्रगति भएको छ । घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्मको २८ दशमलब १९ किलोमिटर सडक अलपत्र परेको साढे २ बर्ष भैसकेको छ । गएको मंसिर ११ गते घोराहीमा सडक कार्य सुुभारम्भ भनि तामझामका साथ काम गर्ने प्रतिवद्धता जनाएको निर्माण कम्पनीले फेरी काम अलपत्र पारेको छ । उक्त आयोजनाको काम गर्ने म्याद २०७९ वैशाखसम्म मात्रै छ । तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले पेटी ठेकेदारलाई हटाई आफैले एक बर्ष भित्र सडक निर्माण सक्ने प्रतिबद्धता जनाएका थिए । तर अहिले काम शुन्य अवस्थामा रहेको छ । तथ्य इन्जिनियरिङले तीन वटा पेटी ठेकेदारलाई काम दिएको थियो तर उनिहरुले पनि अहिले कामलाई अलपत्र पारेका छन् ।

निर्माण कम्पनीले पेश्की स्वरुप १२ करोड रुपैयाँ लिएका छन् । तर २ करोडको मात्रै काम भएको देखिएको छ । अन्य १० करोड रुपैयाँ समेत उनिहरुले लिईसकेको भन्दै आयोजनाले अब उनिहरुले काम नगरे पेश्की फिर्ता गर्ने सर्तमा जमानी बसेको नेपाल बंगलादेश बैंकबाट रकम फिर्ता लिने तयारी गरेको । सबैको चासो र निकै महत्वका साथ हेरिएको फोरलेनको अबस्था दुई बर्ष सम्म अलपत्र हुदा ठूलो क्षति भएको छ । भारत सरकारको उक्त सहयोग रकमको दुरुपयोगसँगै लाभग्राहीले सेवा सुबिधा पाउने भन्दा क्षति धेरै हँुदै जान थालेको छ । गएको मंसिरमा तामझामका साथ निर्माण कम्पनीले सडक कार्य सुभारम्भको व्यानर फिजेर काम गर्ने बताएपनि काममा भने फेरी शून्यता देखिदा नागरिकहरु फेरी आक्रोशित हुन थालेका छन् । अर्कोतर्फ फोरलेन निर्माण कम्पनी तथ्य इन्जिनियरिङले कामको जिम्मेवारी दिएका व्यवसायी अनुुप पाण्डेविरुद्ध एक दर्जन बढीले आर्थिकरुपमा ठगिएको भन्दै जिल्ला प्रशासनमा निबेदन दिएका छन् ।

निर्माण सामाग्री लिएको, गाडी भाडामा लगाएको, मजदुरले काम गरेको, खाना खाएको, तरकारी किनेको पैसा नदिई आफुहरुलाई पाण्डेले ठगेको भन्दै प्रशासनमा निवेदन दिएका हुन् । अहिले सम्म जिल्ला प्रशासनमा ४ करोड ४५ लाख ४३ हजार रुपैयाँ पाउनुु पर्ने भन्दै निबेदन दिएको र उक्त पत्र आयोजना कार्यालयमा पठाईएको छ । उता भालुुबाङ बाग्दुला भिमगिठे चन्द्रौटा लमही घोराही तुलसीपुर सडक आयोजनाले अहिले ठगिएको भनेर निवेदन दिएकाहरुलाई नचिन्ने बताएको छ । यसरी यो गौरवको योजना अलपत्र पार्नेकाविरुद्ध शसक्त कार्वाही र खबरदारीमा उत्रिनुुको विकल्प छैन ।

प्रतिकृया

प्रतिकृया