रुकुमपूर्व
३०-वैशाख/ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको पेल्मामा पूर्वनिर्धारित समयभन्दा ७ घण्टा ढिला मतदान सुरू भएको छ । दुई दिन अघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपका विषयलाई लिएर कांग्रेसले मतदानमा भाग नलिने जनाएपछि मतदान हुन सकेको थिएन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले विवादको विषयमा सहमति भएकाले दिउँसो १२ बजेर ५ मिनेटदेखि मतदान सुरु भएको जानकारी दिए । मतदानको लागि निर्वाचन आयोगले निर्धारण गरेको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हो ।
प्रमुख जिल्ला अधिकारी खड्काले अपराह्न ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेका सबैले मतदान गर्न पाउने बताए । उक्त मतदान केन्द्रमा ४९२ मतदाता भएकाले छिट्टै मतदान सकिनेमा आफूहरु आशावादी रहेको प्रजिअ खड्काले बताए ।