तुलसीपुर
२१-असार/ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा वडाध्यक्षले प्राप्त गरेको मत संख्याको बिरुवा रोपण सुरु गरिएको छ । हरित वडाका रुपमा विकास गर्नका लागि वडाले प्राप्त मतको बिरुवा रोप्ने र संरक्षण गर्ने निर्णय गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले क्रान्ति संग्रहालय रहेको लामाखोला महिला सामुदायिक वनमा बिरुवा रोपेर सुरु गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले एक हजार पाँच सय ६ मत प्राप्त गरेका थिए ।

वडाध्यक्ष प्रेमनाथ योगीले वडाभित्र रहेका सामुदायिक वनहरुसंग समन्वय गरेर बिरुवा रोपिने बताए । उनले बिरुवा रोप्ने मात्रै संस्कार भएकाले ती रोपेका बिरुवा संरक्षण समेत वडा तहबाट गरिने बताए ।

नगरप्रमुख टीकाराम खड्काले क्रान्ति संग्रहालयभित्र फलफूल, जडिबुटीका बिरुवा रोपिने बताए । उनले क्रान्ति संग्रहालयको संरक्षण, संवद्र्धनमा विशेष ध्यान दिइने बताए । पालिकाले त्यस संग्रहालयका लागि सुरक्षाका लागि हेरालुको व्यवस्था गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, वडाध्यक्ष प्रेमनाथ योगीलगायतका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरुले बिरुवा रोपेका थिए ।

प्रतिकृया

प्रतिकृया