तुलसीपुर
२२-भदौ/ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संघीयता कार्यान्वयनका लागि कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् । १९ औं निजामती कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तीन वटै सरकारका निकायमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुको भूमिका एउटै हुने भएकाले स्थानीय तहमा कार्यरत कर्मचारीहरुले मनोबल घटाउन नहुने बताएका हुन् ।
उनले जनप्रतिनिधिलाई सफल बनाउनका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने र त्यसबाट जनताले प्रत्यक्ष फाइदा पाउने भएकाले कार्यसम्पादनमा जुटन आग्रह गरे । कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले पालिकाबाट हुने कार्य सम्पादनलाई छिटो छरितो भए मात्रै कर्मचारीहरुबाट जनताले सहजता पाउने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु आचार्यले निजामती कर्मचारी दिवसका अवसरमा सम्पूर्ण कर्मचारीहरुमा शुभकामना व्यक्त गरेका थिए । स्वास्थ्य जनप्रवद्र्धन शाखाका निमित्त प्रमुख विमल केसीले डेंगु रोगबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।