शंकर केसी, सल्यान,
५-कार्तिक/ सल्यानको कपुरकोट गाउँपालिकाभित्र १८ वर्षसम्मका शारिरीक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार हुने भएको छ । गाउँपालिका र विकलांग मित्र समूह तथा अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र बनेपाको सहकार्यमा अपांगता भएका वालवालिकाको निःशुल्क उपचार हुने भएको हो ।

जसका लागि पाँच वर्षिय सम्झौता गरिएको छ । सम्झौता अनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्रका १८ वर्ष सम्मका शारीरिक अपांगता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्र्थापना, सहायक सामाग्री तथा कृत्रिम अंग उपलब्ध गराउने छ ।

यसका साथै नियमित अनुगमन तथा लक्षित समुह भित्रका नागरिकहरुको समग्र सामाजिकीकरणको लागि पनि क्रियाकलापहरु सञ्चालन हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए । अपांगता पहिचानको लागि स्वास्थ्य तथा पुनस्र्थापना घुम्ती शिविर सञ्चालन तथा जसको लागि आवश्यक प्रचार, औषधि, मेडिकल सामग्री, यातायातको व्यवस्था गाउँपालिकाले गर्ने छ ।

अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्रीहरु हात खुट्टा लगाएतका कृत्रिम अंगहरु, ह्वील चियर, वाकर, बैशाखी, काम्रो आदी सामग्री निःशुल्क नै उपलब्ध गराउने कार्यक्रम रहेको छ । अपांगता भएका व्यक्तिहरुको संरक्षण, सशक्तिकरण र विकासका लागि यस प्रकारको सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । शल्यक्रिया आवश्यक पर्ने बालबालिकाको लागि अस्पतालमा लाग्ने निदानात्मक, शल्यक्रिया, औषधी, मेडिकल सामग्री, वेड तथा खाना बापत लाग्ने खर्चको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

गाउँपालिकासंग सहकार्य गरेको विकलांग मित्र समूह तथा अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्रले स्वास्थ्य तथा पुनस्र्थापना घुम्ति शिविर संचालनको लागि विशेषज्ञ लगायत मानव संसाधन, आवश्यक औषधि, मेडिकल सामग्रीहरु आदि उपलब्ध गराउने छ । केन्द्रले सहायक सामग्रीहरुको नाप जाँच र तयार लगाएतका अन्य विभिन्न काम पनि गर्ने केन्द्रका सिबिआर सुपरभाइजर होमराज केसीले जानकारी दिए ।

गत वर्ष पनि केन्द्रले कपुरकोट गाउँपालिकासंगको सहकार्यमा अपांगता भएका व्यक्तिहरुको उपचारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो । कपुरकोट गाउँपालिकामा मात्रै हाल तीन सयको हाराहारीमा अपांगता भएका व्यक्तिहरुको पहिचान भएको सुपरभाइजर केसीले बताए ।

प्रतिकृया

प्रतिकृया