शंकर केसी, सल्यान
१४-वैशाख/ सल्यानमा खेती गरिएको चैते धानको खेती अनुगमन गरिएको छ । जिल्लाको कालिमाटी गाउँपालिकामा गरिएको चैते धान खेतीको बुधबार स्थलगत अनुगमन गरिएको हो ।
गाउँपालिकाको कृषि विकास शाखा सहित जनप्रतिनिधी र किसानहरुको टोलिले वडा नम्बर ६ छर्छरेमा ८० रोपनी क्षेत्रफलमा लगाएको चैते धान खेतीको अनुगमन गरेको कृषि विकास शाखा प्रमुख बुद्धि बहादुर वलीले जानकारी दिए ।
गत वर्ष ६० रोपनीमा चैते धान खेती भएकोमा यस पटक बढाएर किसानले ८० रोपनी क्षेत्रफलमा धान खेती गरेका छन् । ३३ जना घरधुरीले स्थानीय जातको चैतेधान खेती गरेको वलीले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत पालिकामा प्राप्त सशर्त अनुदान तर्फको ६ लाख र किसानको एक लाख ४६ हजार रुपैयाँ चैते धान खेतीका लागि लगानी गरिएको छ ।
विउ व्यवस्थापन, वाली संरक्षणका सामग्री तथा जैविक मल, झोल मलको व्यवस्थापनमा उक्त रकम खर्च भएको कृषि विकास शाखाले जनाएको छ । गत वर्ष एक हेक्टर क्षेत्रफल बराबर तीन मे।ट। धान उत्पादन भएको शाखा प्रमुख वलीले बताए ।
यस पटक एक सय रोपनीमा चैतेधान खेती हुने अपेक्षा गरिएको भएपनि धान भित्राउने समय असारतिर झरी पर्ने भएकाले समस्या हुने र सिंचाइ सुविधा पनि केही कम भएकाले ८० रोपनीमा मात्रै खेती गरिएको किसानहरुले बताएका छन् ।
किसानहरुले गत चैत्र २० गते सम्म चैते धान रोपिसकेका थिए । अनुगमनको क्रममा धानको बोट राम्रो फस्टाएको पाइएको छ । अनुगमनमा वडा नं. ६ का वडाध्यक्ष टेकराज पुलामी, वडा सचिव प्रकाश खत्री, कृषि प्राविधिक गंगाराम बुढाथोकी, कृषक लगाएतको सहभागिता थियो ।