शंकर केसी, सल्यान
२५-साउन/ कृषिजन्य वस्तु उत्पादनका लागि सल्यान उपयुक्त जिल्ला हो । कर्णाली प्रदेश अन्तरगत रहेको यहाँका दशवटै पालिकामा प्रमुख खाद्य वाली धान, मकै, कोदो देखी ताजा तरकारी र फलफुल, अदुवा लगाएत विभिन्न जडिबुटी पनि उत्पादन हुने गर्दछ । पछिल्लो समय सल्यान जिल्ला ताजा तरकारी र फलफुल खेतीबाट पनि परिचीत हुँदै गएको छ । व्यवसायीक रुपमा तरकारी खेती गर्नेहरुको संख्या विस्तारै बढ्दै गएको देखिन्छ । युवा तथा महिलाहरु समेत मनग्य आम्दानी हुनेभएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय सरकार देखी विभिन्न सरकारी निकायले पनि तरकारी खेतिका लागि लगानी गरिरहेका छन् ।

गत चार वर्षको अवधिमा मात्रै सल्यानबाट ७३ करोड बढीको ताजा तरकारी निकासी भएको छ । जिल्लामा सबैभन्दा बढी कपुरकोट क्षेत्रबाट तरकारी निकासी हुदै आएको छ । कृषि विकास कार्यालय सल्यानको रेकर्ड अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६ करोड २६ लाख ९२ हजार रुपैयाँ तरकारी निकासीबाट आम्दानी भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ५२ लाख रुपैयाँको तरकारी जिल्लाबाट निकासी भएको देखिन्छ । कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीका अनुसार सल्यानबाट आर्थिक वर्ष २०७८/०७९ मा २४ करोड ३ लाख २८ हजार र २०७९/०८० मा २२ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको हो । चार आर्थिक वर्षमा २२ हजार ५७६ मे.ट. ताजा तरकारी निकासीबाट ७३ करोड ८ लाख ६० हजार रुपैयाँ किसानहरुले आम्दानी गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

बेमौसमी तरकारी खेतिका लागि सल्यानको कपुरकोट गाउँपालिका देशमै प्रख्यात छ । त्रिवेणी, सिछकुमाख गाउँपालिका तथा बागचौर, बनगाड, शारदा नगरपालिका र अन्य पालिकामा पनि किसानहरुले मौसम अनुसारका तरकारी र फलफुल खेती गर्छन् । कपुरकोट क्षेत्रबाट मात्रै एक सिजनमा करिव पाँच हजार मे.ट. जाता तरकारी जिल्ला वाहिर निर्यात हुनेगर्दछ । सल्यानका किसानहरुले विशेष गरि गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानि, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौषमी ताजा तरकारि उत्पादन गर्ने गर्दछन् । फलफूलहरुमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानि, टिमुर आदि उत्पादन गर्ने गरेका छन् ।

 

 

समुन्द्री सतहबाट १२ सय मिटर देखि करिव १८ सय मिटर सम्मको उचाइमा रहेका यहाँका खेतबारिमा किसानहरुले वेमौषमी ताजा तरकारि तथा फलफुल उत्पादन गर्दै आइरहेका छन् । कपुरकोटमा हप्ताको दुई दिन तरकारी हाटबजार लाग्ने गर्दछ । यो तरकारी बजार देशकै ठूला तरकारी बजार मध्ये पर्दछ । कपुरकोटको तरकारी बजारमा हजारौँकिसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्रि गर्ने गर्दछन् । यो बजारका अलावा अन्य स्थानमा पनि सहायक तरकारी बजार लाग्नेगर्दछन् । पछिल्लो समय गाउँगाउँमा कृषि सडक निर्माणल भएपश्चात व्यापारीहरु किसानको खेतबारी सम्म नै पुगेर तरकारी खरिद गर्नेगरेका छन् । कृषि सडकले कृषिजन्य वस्तु बजार सम्म पुर्याउन र आवश्यक सामग्री गाउँसम्म लैजान पनि किसानलाई सजिलो बनाइदिएको छ ।

कसरी सुरु भयो तरकारीको लहर ?
वि.स. २०४२/०४३ सालमा स्थापना भएको राप्ति एकिकृत ग्रामिन विकास परियोजनाले साविक राप्तिका पाँचै जिल्लामा गरेको अनुसन्धाबाट सल्यान जिल्लाको कपुरकोट क्षेत्रमा वेमैसमी तरकारी खेति गर्न सकिने उपयूक्त स्थान भएको ठानेर त्यस परियोजनाले यस क्षेत्रमा भीएफसी कार्यक्रम लागु गरि सुरु ग¥यो । कृषि उपज बजार केन्द्रका अनुसार उक्त कार्यक्रम लागु भएपछि यस क्षेत्र वरपरका किसानहरुलाई समेटेर वेमौसमी तरकारी एवंम् फलफूल सम्बन्धि आधुनिक खेती प्रणालीको बारेमा विभिन्न तालिम एवम् ज्ञान बांड्ने, रोगनासक किटनासक औषधिहरुको वारेमा जानकारी एवंम् बजारीकरणको ज्ञान दिन थालियो ।

यसरी बढ्दै गएको कृषि उपज बजारलाई अझ व्यबस्थित बनाउने उद्देश्यका साथ २०४७ सालमा हिमाली वेमौसमि ताजा तरकारी फलफूल उत्पादन संघ दर्ता गरि एउटा कार्यसमिति पनि गठन गरिएको थियो । जसको अध्यक्षमा ईश्वरी प्रशाद शर्मा लाई चयन गरियो । तत्पश्चात उक्त समिति, भीएफसी, जिल्ल्ला कृषि विकास कार्यालय, कृषि सेवा केन्द्र, स्थानिय निकाय एवंम् आम जनसमुदायहरुबाट यस कृषि उपज बजार केन्द्रको विकास एवंम् व्यबस्थापन गरिएको थियो । र यस क्षेत्रका किसानहरुले वेमौषमी तरकारि एवम् फलफुल खेती शुरु गरेको पाइन्छ । शुरुमा यस क्षेत्रमा केराउ खेती गरिएको थियो ।

कपुरकोटमा प्रत्येक हप्ताको मंगलबार र शुक्रबार गरि २ पटक बजार लाग्ने गर्दछ । सुरुसुरुमा भने प्रत्येक शनिबार लाग्ने गरेता पनि वि.स. २०४८ साल देखि तत्कालिन जिल्ल्ला विकास समितिले आफ्नो मातहतको जग्गा यस समितिलाई चलन गर्न हस्तान्तरण गरे पछि केही व्यबस्थित बनेको थियो । सुरुका वर्षहरुमा सल्यानबाट संकलित तरकारीको झण्डै ६० देखि ६५% बुटल बजारमा बिक्रि हुने गरेको र त्यहाँको बजार बुधबार र शनिबार लाग्ने गरेकोले उक्त बजारमा बिक्रिको लागि यहाँ मंगलबार र शुक्रबार तरकारी बजार लगाउने गरिएको हो ।

कृषि पर्यटनको प्रवद्र्धन आवश्यक
कपुरकोटको तरकारि जती खानलाइ स्वादिष्ट र स्वास्थ्यका लागी हितकर छ, त्यत्ति नै तरकारी उत्पादन हुने क्षेत्रको भ्रमण गर्नुको मजा पनि छ । उत्तरतिर हिमश्रृंखला र तलतिर एशियाकै ठूलो उपत्यका हेर्न सकिने समेत भुमि रहेको कपुरकोट क्षेत्रमा जो कोहिको पनि मन रुमलिन सक्छ । यहाँको हावापानी देखि प्राकृतिक सौन्दर्यता र स्थानीयहरुको पाहुना वा अतीथीहरुलाइ स्वागत गर्ने चलनले जसको पनि मन दंग पर्न सक्छ ।

सिंचाइको सुविधा विना पनि कपुरकोट क्षेत्रमा तरकारि फल्छ । विषादीको प्रयोग विना पनि यहाँ तरकारि फस्टाउँछ । जव चैत्र वैशाखदेखि धेरैजसो ठाउँमा ताजा तरकारिको अभाव हुने गर्छ, यस क्षेत्रमा लोभ लाग्दो तरिकाले मंशिर, पुस सम्म नै लटरम्म तरकारी र फलफुल उत्पादन हुने गर्छ । यसैले तान्छ सबैकोे मन । चाहे ज्युलाको खेत चाहे पाखा बारि, जताततै लटरम्म तरकारि र फलफुल फस्टाएको हुन्छ । पहिले कालापहाड जानेहरु खेतबारिमै रमाएको देख्न सकिन्छ, विदेशिनेहरुको यात्रा स्थगीत भएर आफ्नै खेतबारिमा परिश्रम पोखिन्छ र त्यहि परिश्रमबाट आर्जन भएको रकमले छोराछोरिले सहज तरिकाले पढ्न लेख्न पाइरहेका छन् ।

तरकारी खेतीबाटयस क्षेत्रका किसानको आयआर्जनमा महत्वपुर्ण योगदान पुगेको छ । यहांको तरकारी खेतीले राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा यस कपुरकोट क्षेत्रलाई चिनाएको छ । पर्यटकीय हिसावले महत्वपूर्ण र सम्भावना बोकेको सल्यानमा पर्यटकहरु आउन सक्ने थुप्रै आधारहरु छन् । उत्तरतीर हिमाल र तराइको समथर फाँटहरु पनि एकै स्थानबाट देख्न सकिने कपुरकोट क्षेत्र प्राकृतिक सौन्दर्यताले पनि महत्वपूर्ण छ । लटरम्म तरकारि फलेका खेतबारि, हरेक मानिस कृषि कर्ममा सक्रिय भएको दृश्य सांच्चीकै हेर्न लायक देखिन्छ । अझ यहाँ होमस्टे संचालन गरेर पाहुनाहरुलाइ यहिंकै अर्गानीक तरकारि र फलफुलहरुको स्वाद दिलाउन सक्ने हो भने विभिन्न ठाउँबाट पर्यटकहरु भित्रन सक्ने सम्भावना रहेको छ ।

प्रतिकृया

प्रतिकृया