वसन्त आचार्य
नेपालमा चलेको उखानै छ, छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी । सदियौ पुरानो यो उखानले हाम्रो सदियौ पुरानो चिन्तनलाई गतिलोसँग उजागर गरेको छ । केही छ त सबै छ, केही छैन त कोही छैन । सर्वमान्य सिद्धान्त पनि यही हो । जो सँग केही हुन्छ त्यसलाई केयौले पछ्याउँछन्, सुन्छन् अनि बाहवाही गर्छन् । साइकल चढ्नेको भन्दा बाइक चढ्नेको कुरा धेरै सुनिन्छ । बाइक चढ्ने भन्दा गाडी चढ्नेको कुरा धेरै सुनिन्छ । लखपति भन्दा करोडपतिलाई धेरैले पछ्याउछन् । करोडपति भन्दा अरबपति अनि अरबपति भन्दा खरबपति । यो आम मानविय प्रवृत्ति हो । खास पुँजिवादी व्यवस्थाको सूचक नै यही हो । टल्कने तारा, फुलेको फूल,फलेको रुख अनि बगेको नदी यही त हो मान्छेले माया गर्ने कुराहरु । दिनभरी साथमै हुने सुर्यलाई रातमा कस्ले सम्झेको छ र ?
भौतिक उन्नतीलाई नै सम्पन्नताको खुड्किलो मान्ने आम मान्छेको बुझाई देखिन्छ । आज तोते बोल्ने सन्तान, जुनजस्ती मायालु अनि डाडापारीमा बाबाआमा छाडेर मान्छे तल्लोबाटो “बाँचे साथमा मरे घाटमा” भन्दै अमेरिका पुगेको छ, युरोप पुगेको छ । कोही त मेहेन्दीले नाम लेख्ने मान्छे भेटेको पहिलो पटक आफ्नै नाम पनि म्यासेन्जरबाट हेरेर चित्त बुझाउँदे हिडेको छ । यही “केही छ ” बनाउनका लागि त हो । केही नहुँदा पनि कोही हुने भए किन मान्छेले यति अग्लो दुखको पहाड वियोगले काट्ने थियो र ? साँच्चै केही नहुँदाको जीन्दगी समुद्र जस्तो पो हुँदो रहेछ । केही नछेकिने पनि , केही नदेखिने पनि । जीवनका यामहरु खुलेयाम शिशिर बोकेर जान्छन्, आफ्नाहरु गोरेटो बदलेर जान्छन्, सम्बन्धहरु “अदालत” जान्छन्,खुसीहरु फरार सूचिमा पर्छन, मनको राजा भन्नेहरुले गणतन्त्र ल्याउँछन् । हो केही नहुँदा, कोही हुँदैन ।
केही दिन अगाडी एक नेता भन्दै थिए “मन्त्री हुँदा क्या सान थियो फुस्केको दिन फेरी उही सडकमा भइयो ” । मानिसले पाउने पद स्थिर हुँदैन । पाएको दिन वाहवाही हुन्छ गुमेको दिन बोलिदिने पनि कोही हुँदैन । भन्छन् त असली मान्छे पदमा पुगेपछि चिनिन्छ । हो पदमा पुर्याउनेले पनि चिन्छ, पदमा पुग्नेले पनि चिन्छ । मान्छेको मुल्यांकन गर्ने अन्तर्राष्ट्रिय सूचक यही पद त रहेछ । हरेकलाई संघर्षका दिनमा अर्काको धेरै साथ चाहिएको हुन्छ । तर तपाईले आफ्ना संघर्षका दिनहरुलाई फनक्क घुमेर हेर्नुहोस् त कतिले दिएका थिए तपाईलाई साथ ? कति थिए तपाईको हात तानेर अगाडी बढाउनेहरु ? त्यतिबेला फर्केर हेरिदिने मान्छे पनि थिएन होला । सुनिदिने र मनको कुरा गुनिदिने मान्छे पनि हुँदैन । एक्लो हुँदा आफ्नो मन पनि त विरक्तिन्छ, आफैसँग हुँदैन । कहाँ कहाँ जान्छ सम्हाल्नै नसक्ने गरी । संसारमा केही पनि नहुनु भनेको मान्छे नै नहुनु हो त ? अहिलेको सामाजिक व्यवस्थालाई हेर्दा माथिको प्रश्नको जवाफ सकारात्मक नै आउने गर्दछ ।
मलाई जागिरे जीवनबाट अवकाश हुने बेलामा कथाकार महेश विक्रम शाहले लेखेको स्टाटसले साह्रै मन छोएको थियो । उनले जागिरे जीवनमा सबैले नजिक नजिक वनाएपछि जागिरे जीवनपश्चात सामान्य मान्छेले पनि वास्ता नगरेको गुनासो गर्दै पीडा पोखेका थिए । अवकाश पछिको जीवनमा अधिकांश मानिसहरु डिप्रेसनको सिकार हुनुका पछाडी उसलाई नगर्ने वास्ता नै महत्वपूर्ण कुरा हो । सधैभरी भिडमा बाँचेको मान्छे एकाएक एक्लो भएपछि के हुन्छ ? सधै भरिने नारायणी सुक्यो भने के हुन्छ ? हामी सहज अनुमान लगाएर पिडाबोध गर्न सक्छौ । जीवनभर जागिरका क्रममा हरेक मान्छेसँग जोडिनुपर्ने हुन्छ । केयौ मान्छेका काम गर्नुपर्ने हुन्छ । धेरैले सहयोगका लागि लालायित भएका हुन्छन् । तर जब जागिरे जीवनको समाप्ती हुन्छ आफुले काम गरिदिएका मान्छेहरु नै आफैलाई एक्लाउँछन् । सम्बन्ध स्वार्थले मात्रै जोगाएपछि यस्तै हुने हो । आजभोलि यस्तो लाग्छ स्वार्थको संसर्गले मात्रै सम्बन्धको जन्म हुने त होइन ? जब स्वार्थको नै “बन्ध्याकरण” हुन्छ अनि सम्बन्धहरु जन्मन बन्द गर्छन् ।
अधिकृतस्तरका एक रिटायर्ड कर्मचारी आफ्नो तितो अनुभव सुनाउँदै थिए । ” पहिला पहिला चिया पसलमा कुरा गर्दा सारा भिडका मानिसहरुले एकाग्र भएर स्वस्थानी सुने जसरी कुराहरु सुनेका हुन्थे । चियाको पैसा तिर्न लाग्दा समेत मैले तिरिदिन्छु भन्ने मान्छेहरुको चर्को आवाज सुनिन्थ्यो तर रिटायर्ड भएको एकसाता पछि कुरा सुनिदिने त टाढाको कुरा राम्रोसँग बोल्ने पनि हुँदैनन् । ” यसले पनि देखाउँछ केही हुनेको मात्रै कोहि हुन्छ । यो भोगाई आम अवकाशप्राप्त मान्छेको हो । अवकाश अगाडी र पछाडी मोबाईलको कल लग हेर्ने हो बुझिन्छ जीन्दगी के हो भनेर । एकबारको जीवनलाई सार्थक तुल्याउनका लागि हो, केही न केही हुनुपर्दछ । तर सबै मान्छे कहाँ केही बन्न सक्छन् र ? यस्तो लाग्छ केही नहुनु कतै मान्छे नै नहुनु त होइन ? “केही” मा त्यस्तो चुम्बकीय शक्ति हुन्छ जसले गर्दा जे बोलेपनि सबैका लागि अमृत बचन हुन्छ तर त्यो सकिएको दिन जे बोलेपनि निरर्थक मात्रै हुन्छ ।
मान्छेलाई पछि पछि लगाउने, जस्तासुकै कुराको पनि प्रशंसा गर्न लगाउने यो “केही” भनेको के हो त ? पैसा ? पावर ? क्षमता ? या अन्य ? माथिको कुरालाई अलग अलग ढँगले हेर्न सकिन्छ ।
पहिलो कुरा तिर नै जाउँ पैसा । पुँजिवादी व्यवस्थामा पैसा सबैभन्दा चुचुरोमा हुन्छ । कसले भनेको सगरमाथा अग्लो हुन्छ भनेर ? मान्छेको सान, रवाफ सबै कुरा पैसाले निर्धारण गर्दछ । तपाई आफैलाई हेर्नुहोस् त पैसा हुँदा र नहुँदा तपाईलाई कस्तो अनुभुति हुन्छ ? जोसँग पैसा छ आज त्यसलाई समाजले केन्द्रमा राखिरहेको छ । धेरै जनाको दिक्दारी हामी सुनिरहेका हुन्छौ ”फलानो जस्तो पैसा कमाउँन सकिएन , जीवनमा केही गर्न सकिएन” आज हरेक व्यक्तिकालागि यो साझा समस्या बनिरहेको छ । पैसा कमाउँनु नै जीवनको सफलताको मापनका रुपमा हेर्ने प्रवृत्ति कोरोनको भाइरस जस्तै फैलिएको छ । पैसा कमाउनु आम मान्छेका लागि गुणस्तरिय जीवन विताउने बलियो आधार पनि हो । तर पैसा मात्रै कमाउनु भने जीवनको तिरस्कार हो । मान्छेलाई बाँच्नका लागि कति पैसा चाहिन्छ ?
एकपटक मैले पोडकास्टमा अरबपति ज्ञानेन्द्रलाल प्रधानका कुरा सुनेको थिए । “मान्छेको जीवनमा पैसा कमाउनुले एउटा तहसम्म मात्रै महत्व राख्छ त्यसपछि त्यो केवल आफुले गर्व गर्ने साधन मात्र हुन्छ , जस्तौ मैले केही करोड कमाउँदासम्म मलाई पैसाको महत्व हुन्छ तर अब अरब कमाएको पैसाले मलाई केही पनि महत्व राख्दैन । मैले जति पैसा कमाए पनि चढ्ने एकाध करोडको गाडी हो, वस्ने पनि त्यस्तै घर हो , खाने उही कुरा हो त्यो पैसा मेरो जीवन गुणस्तरिय बनाउनका लागि कहिल्यै काम लाग्दैन केवल मसँग यति सम्पत्ति छ भनेर सन्तुष्टि गर्ने कुरा मात्र हो ” उनले विनोद चौधरीको उदाहरण दिदै भनेका थिए “ अब विनोद चौधरीले हरेक वर्ष बढाएको धनले उनको जीवनलाई खासै प्रभाव पर्दैन बस सूचिमा कहाँ परे भन्ने मात्रै हो । ” आज मान्छेका लागि पैसा नै केन्द्रमा छ । पैसाविनाको मान्छेको तौल कपास जस्तो पो हुँदारहेछ । पैसा कमाउँन सकिएन भने कुनै पनि कामको अर्थसिद्ध हुन छाडेको छ । “सरकारी कर्मचारी भनेर के गर्नु, यताउता गरेर कमाउँने होईन ” यो प्रश्नको सामना कतिले गर्नुपरेको छ ?
केही हुनु भनेको अर्को महत्वपूर्ण कुरा पद हो । धेरैलाई लाग्छ पद आफ्ना लागि हो । तर अलिक गहिराइमा डुबेर सोच्नुस् त ? पद तपाईका लागि भन्दा पनि तपाईका “तपाईहरु” का लागि हो । पदमा पुगेको मान्छेले केही न केही गरिदिन्छ भन्ने स्वार्थले गर्दा अनुयायीहरु एकाएक बढेर जान्छन् । जुन दिन पद सकिन्छ आफ्नाहरु पनि सकिन्छन् । जीवनभर इमानको राजनीती गरेर कहिल्यै सत्तामा नपुगेको मान्छेका पछाडी कति जना छन् ? गन्नुभएको छ । नगन्नु होला “इमान” शब्दप्रति नै तपाईलाई वितृष्णा आउन सक्दछ ।
खास अर्थमा केही हुनु भनेको क्षमतावान हुनु पनि हो । कुनै पनि विषयमा पोख्त हुनु, जानकारी राख्नु, गहिरो ढँगले बुझ्नु या त्यो विषयमा उठेका प्रश्न र जागृत भएका समस्या चुड्कीको भरमा समाधान गर्नु यही त हो क्षमता भनेको । तर क्षमता भएर त्यसलाई पैसा उत्पादन गर्ने कारखाना बनाउन सकिएन भने “मुकुन्दे” भइन्छ । आज क्षमताका आधारमा यसले कति द्रव्य संकलन गर्यो भन्ने कुरा मात्रै मापनमा आउँछ । दुर्गम जाने डक्टर, आफ्नै घर बनाउन नसक्ने इन्जिनियर,छोराछोरीलाई राम्रो ठाउँ पढाउन नसक्ने शिक्षक, बैक एकाउन्टमा तलब मात्रै आउने कर्मचारीका आफन्त अनि कसैले “केही” मानेको तपाईले देख्नुभएको छ ? हो केही नहुनेको कोही हुँदैन ।