रोल्पा
२६ पुस/ रोल्पामा पहिराको अत्यधिक जोखिम देखिन थालेको छ । पहिराले जनधनको क्षतिका साथै बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । भौगोलिक अध्ययन र इञ्जिनीयरिङ डिजाइनबिना खनिएका सडकले पहिराको उच्च जोखिम देखिन थालेको हो ।

प्रदेश नं ५ का १२ जिल्लामध्ये रोल्पालाई विपद्का दृष्टिले उच्च जोखिमयुक्त जिल्लाका रुपमा रूपमा लिइएको छ । रोल्पाको सुनछहरी, थवाङ, लुङ्ग्री, माडी र परिवर्तन गाउँपालिका पहिराको उच्च जोखिममा रहेका स्थानीय तह हुन् ।

ती गाउँपालिकामध्ये सुनछहरी गाउँपालिका सबभन्दा बढी जोखिममा रहेको छ । विसं २०७२ को भूकम्पले सुनछहरी–१ झङ्कीका ४० घर र सोही वडाको फुलिवनका २० घर पहिराका कारण विस्थापित भएका थिए ।

यसैगरी ४५ घरधुरीले बसोबास गर्दै आएको सोही गाउँपालिकाको वडा नं ३ चालावाङमा अहिले २२ घरधुरी मात्रै बस्दै आएका छन्,भने बाँकी सबै विस्थापित भइसकेका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सचिव शङ्करप्रसाद खरेलसहितको एक टोलीले स्थलगत निरीक्षण गरी सो क्षेत्रका बस्ती स्थानान्तरणका लागि विस्तृत योजना तयार गरेको छ ।

पहिराका कारण सुनछहरीका वडा नं ४ र ५ उच्च जोखिममा छन् । गाउँपालिकाका अध्यक्ष आशबहादुर घर्तीका अनुसार ती वडाका ३६० घर अत्यन्तै जोखिममा छन् । बस्तीमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी भवन र विद्यालय पनि उच्च जोखिममा छन् । बस्ती नै स्थानान्तरण गर्ने समस्या देखिन थालेको अध्यक्ष घर्तीको भनाई छ ।

प्रतिकृया

प्रतिकृया