काठमान्डौ ,
६ – चैत / शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाको आशंकामा भर्ना गरिएका पाँच जना सबैको रिपोर्ट नेगेटिभ आएको छ।  एक जना विदेशी र चार जना नेपाली कोरोनाको आशंकामा शुक्रराज अस्पतालमा भर्ना भएका थिए ।

चार जना नेपालीलाई आइसोलेसन र एक जना विदेशी नागरिकलाई आइसियुमा राखेर उपचार भइरहेको छ। श्वासप्रश्वासमा समस्या भएपछि बेलायतका नागरिकलाई आइसियुमा भर्ना गरिएको थियो । उनीहरु सबै जनामा कोरोनाको संक्रमण नरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए ।

कोरोनाको आशंकामा मंगलबारदेखि ३४ जनाको नमूना संकलन भएको थियो । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए ।  उनले भने, ‘हामीले मंगलबार मध्यान्ह १२ बजेदेखि नमूना संकलन गरेका थियौँ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

यो सँगै कोरोनाको आशंकामा परीक्षण गराएका नमूनाको संख्या ५ सय ३० पुगेको छ। परीक्षण गरिएकामध्ये चीन बाट फर्किएका एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनी निको भइसकेका छन् । बाँकी रहेका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्रोत : स्वास्थ्य खवर

प्रतिकृया

प्रतिकृया