रुकुमपुर्व ,
१८ – वैशाख / विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड –१९ को प्रभाव ढोरपाटन शिकार आरक्षमा परेको छ । ढोरपाटनमा शिकारका लागि हरेक वर्ष दुई याम आरक्ष खुला हुने गर्छ । यस वर्ष भने कोरोनाको प्रभावले ढोरपाटन शिकार आरक्षलाई ठूलो असर परेको छ ।

आरक्षमा शिकारका लागि असोज–कात्तिक र चैत–वैशाख गरी वर्षमा दुई पटक बोलपत्र आह्वान गरिन्छ । आरक्षमा चालु वर्षको दोस्रो याममा शिकारका लागि बोलपत्र आह्वान गरिए पनि ढोरपाटनमा यसपटक कोही शिकारी नआएको आरक्षका सहायक संरक्षण अधिकृत रमेश यादवले बताए । पहिले पनि शिकारका लागि आरक्षमा अमेरिका र युरोपपका नागरिक आउने गरेका थिए । यतिबेला हवाई उडान बन्द छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा गरिएको बन्दाबन्दीले शिकारी नआएको उनले बताए ।  चालु वर्षको दोस्रो यामका लागि ११ नाउर र तीन झारल शिकार गर्न पाउने सरकारी व्यवस्था थियो । शिकारीले रु ९ लाखदेखि १२ लाखसम्मको बोलकबोल गरेर एउटा नाउर मार्न पाउँछन् । त्यसका लागि गत वर्ष चैत ४ गते बोलपत्र सम्झौता भएको थियो ।  ढोरपाटन आरक्षणमा शिकार खुला हुँदा वर्षेनी रु दुई करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ ।

ढोरपाटनमा बन्दाबन्दीले यसपटक झन्डै रु एक करोड राजस्व गुमेको सहायक संरक्षण अधिकृत यादवले बताए । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खुलाएको बोलपत्रमा शिकारीले प्रतिस्पर्धाका आधारमा शिकार गर्न अनुमति पाउँछन् ।  गत वर्ष दोस्रो याममा एउटै नाउरको रु १३ लाख ५१ हजार र झारलको रु १३ लाख ५० हजार राजस्व उठेको थियो ।

हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालयन आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड लाइफ समारिजलगायत कम्पनीमार्फत शिकारी ढोरपाटनमा आउने गर्छन् । ढोरपाटन शिकार आरक्ष रुकुम ( पूर्व ) , म्याग्दी र बाग्लुङ तीन जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रुकुम९पूर्व०मा आरक्षको सबैभन्दा बढी करीब ६० प्रतिशत भूभाग रहेको छ ।

प्रतिकृया

प्रतिकृया