आशिष केसी
जब फागुन लाग्थ्यो, भोटेहरु हिमालबाट घोडा चढेर दाङ आईपुग्थे र आफुहरुले ल्याएको जडिबुटि, यार्सागुम्बा, कम्बल, राडी लगायत स्थानीय उत्पादन विक्रि गर्ने गर्थे । एक दिनको कुरा हो घुम्दाघुम्दै रात पर्न थालिसकेको थियो उनीहरु उपयुक्त वासस्थानको खोजिमा थिए सोही क्रममा उनीहरुले पर्सेनीमा बाँझो खेत देखे र त्यहीँ बास बस्ने विचार गरे । हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित पर्सेनीमा उनीहरुले रात बिताए ।

अघिल्लो दिन शिवरात्री थियो । शिवरात्रीको दिन त्यस स्थानमा उनीहरुले नाचगान, भजनकिर्तन गरी रमाईलो गर्ने विचार गरे । उनिहरुले आफ्ना संस्कृती झल्कने नाचगान प्रस्तुत गर्नथाले । त्यसैगरी त्यहाँ घोडा दौड प्रतियोगिता समेत राखे । त्यहाँ हेर्नेहरुको भिड लाग्न थाल्यो । नाचगान हेर्न आएकाहरुले भोटेहरुले बेच्न राखेको सामान किनमेल गर्न थाले । भोटेहरुलाई सुनमा सुगन्ध नै भयो । रमाईलो पनि भयो र आफ्नो सामान पनि बिक्री भयो । त्यसपछि उनीहरु खुशी भएर घर फर्किए । यसरी नै हरेक बर्षको शिवरात्रीको दिन भोटेहरु हिमालबाट पर्सेनीमा आउनथाले र मेला लगाउन थालेको इतिहास रहेको छ । जुम्ला, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाबाट उनीहरु घोडा चढेर आउने गर्थे ।

भोटे मेला कहिलेदेखि लाग्न सुरु भयो भनेर त यकिन छैन यद्यपी तुलसीपुर उपमहानगरपालिका वडा न. ७ श्रीगैं निवासी ८७ वर्षीय दोर्ण बहादुर केसीकाअनुसार उनका हजुरबुबाले बाल्यकालदेखि नै भोटे मेला मनाएको कुरा आफुलाई सुनाउने गरेको बताउँछन् । उनी भन्छन् – ‘म सानो छँदा मेरो हजुरबुवाले आफु पनि सानैदेखि भोटे मेलामा रमाउने गरेको बताउनुहुन्थ्यो ।’ वाल्यकालमा आफुले १/२ रुपैया लिएर मेला जाने गरेको उनी बताउँछन् । उनले भने – ‘त्यतिबेला ५ रुपैया लियर मेला गयौँ भने पनि खर्च गरेर पनि २÷३ रुपैया त बचाएर घर ल्याउँथ्यौँ ।’

त्यतिबेला दाङ विकासको हिसाबले निकै पछाडी थियो । यहाँको जनघनत्व कम थियो । बस्ती निकै पातलो थियो । त्यतिबेला अहिलेको तुलसीपुर बजार खाली भूभाग मात्रै थियो । दाङमा थारुहरुको बाहुल्यता रहेको थियो । सशस्त्र द्वन्द्वका कारण २०५४ सालदेखि भोटेहरु दाङ आउन छोडे । तत्कालीन माओवादी र सरकारबिच चर्किएको द्वन्द्वका कारण भोटेहरु आउन छोडे पनि स्थानीयहरुले मेला लगाए । मेलामा स्थानीय संस्कृति झल्कने नाचगान गरिन्थ्यो । त्यस्तै जिल्लाका विभिन्न ठाउँका मानिसहरु स्थानीय उत्पादन विक्रि गर्न मेलामा आउँथे । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ पर्सेनी निवासी ७६ वर्षीय खुमानन्द अधिकारीकाअनुसार २०६१ सालदेखि मेला पूर्णरुपमा बन्द भयो ।

२०६१ साल फागुन महिनाको कुरा हो स्थानीय युवाहरुबिच मेला लगाउने विषयमा झगडा भयो । स्थानीय युवाहरु सम्मिलित क्लब, संस्थाले आफुहरुले नै मेला लगाउन पाउनु पर्ने आआफ्नै अडान राखे । खासमा उनीहरुको झगडाको कारण नै मेलामा स्टल राख्ने व्यापारीबाट स्टल शुल्कको व्यवस्था गर्ने र त्यो रकम आआफ्नै क्लबमा जम्मा गर्न पाउनुपर्ने माग थियो । विवादले उग्र रुप लिएपछि उनीहरु बिच खुकुरी हानाहान समेत भयो र केही घाईते समेत भएका थिए । त्यसपछि तत्कालीन हलवार गाविसले त्यहाँ मेला लगाउन प्रतिबन्ध लगायो ।

स्थानीय सरकारको सहयोगमा गत वर्षदेखि भोटे मेलालाई पुनः बिउँताउने प्रयास गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित पर्सेनीमा शिवरात्रीको दिनमा लाग्ने भोटे मेला करिब डेढ दशकपछि गत वर्षदेखि पुनः लाग्दै आएको छ । भोटेहरुले लगाउँदै आएको मेलामा पछिल्लो समय दंगालीहरुको पनि चासो बढेको देखिन्छ । कला संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिन लागिएको हो ।

त्यतिबेला मेला लाग्ने स्थानमा प्रशस्तै खाली जग्गा थियो । सोही जग्गामा मेला लाग्ने गर्दथ्यो । पछि विस्तारै सो जग्गा अतिक्रमण हुँदै गयो । केही जग्गा मावि कालाखोलाले तारबार ग¥यो, केही शिव मन्दिरको नाममा तारवार भयो भने केही स्थानीयले अतिक्रमण गरेका हुन् । २०३८ सालमा त्यहाँ शिव मन्दिर स्थापना गरियो । पञ्चायतकालमा पञ्चहरुको सहयोगमा मन्दिर स्थापना गरिएको स्थानीयहरुको भनाई छ । स्थापनाको लामो समयसम्म पनि संरक्षणको अभावमा रहेको मन्दिरको २०६२ सालमा पुनः निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको मन्दिरको स्थानीयको सहयोगमा पुनः निर्माण गरिएको हो । हरेक वर्ष शिवरात्रीको दिन त्यहाँ धुमधामका साथ पुजाआजा गरिन्छ । मेला हेर्न आउनेहरु मन्दिमा दर्शन गर्ने गर्छन् । शिवरात्रीको दिन यस मन्दिरमा रातभर जाग्राम बस्ने, भाङ, धतुरो खाने प्रचलन रहिआएको छ ।

करिब डेढ दशकपछि गत वर्षदेखि पुःन लाग्न थालेको मेला यस वर्ष पनि लाग्ने भएको छ । तर भोटे मेला लाग्ने स्थानको जग्गा अतिक्रमण भईसकेको हुनाले अहिले खोलाको बगर मात्रै बचेको छ । वर्षायाममा मात्रै बग्ने रानिघाट खोला हिउँदमा भने सुख्खा रहने गर्छ । त्यही सुख्खा खोलामा गत वर्षदेखि मेला लगाईंदै आएको छ । यही फागुन २६ गते शिवरात्रीको दिनदेखि मेला लाग्ने भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ को संरक्षणमा तुलसीपुर एक्सप्रेस प्रालीको आयोजना तथा रानिघाट युवा क्लबको सहआयोजनामा मेला लाग्ने भएको हो । मेलामा इतिहास झल्कने देउडा नाच, घोडा दौड प्रतियोगिता समेत हेर्न सकिने वडा अध्यक्ष टोपबहादुर केसीले बताए । उनकाअनुसार इतिहास झल्कने गरी सभ्य र भब्यरुपमा मेला लगाईनेछ । घोडा दौड प्रतियोगिताको लागि वडा न. ७ को तर्फबाट २ वटा घोडा खरिद गर्न लागिएको उनले बताए । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको समेत प्रस्तुती रहनेबताइएको छ ।

प्रतिकृया

प्रतिकृया