३ कार्तिक/ लगातारको वर्षाका कारण आएको बाढी पहिरोमा परी सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण बझाङका २३ र कैलालीका ३ जना बेपत्ता छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टीमा फसेका ५ जनाको सुर्खेतबाट आएको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

आइतबारदेखि भइरहेको वर्षाका कारण आएको बाढी पहिरोमा परी बैतडीमा ३, डोटीमा ९ र डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ ।

बैतडीको शिवनाथ गाउँपालिकामा- ६ बसेडीमा पहिरोले घर बगाउँदा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्कीको मृत्यु भएको छ ।

सोमबार राति डोटीको सायल गाउँपालिका– ६ मेल्लेखमा घर भत्किँदा च्यापिएर बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । डोटीकै जोरायल गाँउपालिकामा ६ र शिखर नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय धनगडीले जनाएको छ ।

त्यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–३ मा खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा खोलाले बगाउदा ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगडीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले बताए ।

ढुङ्गाडका ६० जना उद्धारको पर्खाइमा
बैतडीको सिगास गााउपालिका- ५ ढुङगाडमा सेती नदी गाँउमा पस्दा फसेका ६० जनाको अझै उद्धार हुन सकेको छैन ।

बाढीमा फसेकाहरूको उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी रमेश पालले बताए ।

लगातारको वर्षासँगै पानीको बहाव बढेपछि सेती नदीले धार परिवर्तन गरेर गाँउको दुवैतिर बग्न थालेको छ ।

लगातार पानी परिरहेको र सेती नदीमा पानीको वहाव बढदै गएकाले उद्धार गर्न समस्या भयको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन नसकेको जनाइएको छ । स्रोत: शिलापत्र

प्रतिकृया

प्रतिकृया