शिव पुन,दाङ
३-कात्तिक/ निर्देशक ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चुरिफुरी’ को रिलिज डेट घोषणा भएको छ । आउँदो पुस ९ गते चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । मंगलबार चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले तुलसीपुरमा चलचित्रका निर्देशक ऋषिराज आचार्यसंग आयोजना गरेको महत्त्वपूर्ण साक्षात्कार कार्यक्रमबाट आचार्यले चलचित्रको रिलिज डेट घोषणा गरेका हुन् ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै निर्देशक आचार्यले कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन औषधिको काम चलचित्र ‘चुरिफुरी’ गर्ने दावी गरे । साथै निर्देशक आचार्यले कोरोनाले थिलोथिलो परेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन विषेशगरी निर्माता,प्रदर्शक र वितरक मिलेर जानुको विकल्प नरहेको समेत बताए । आचार्यले नेपाल चलचित्र विकास बोर्डले पनि सुरुको केही समयका लागि चलचित्र प्रदर्शन सम्बन्धि आकर्षक राहतको प्याकेज ल्याउनुपर्ने जसले गर्दा करोडौंको लगानी गरेका फिल्म मेकरहरु पनि फिल्म रिलिज गर्न अग्रसर हुने वातावरण शृजना हुने बताए ।
सोसल कमेडी जनरामा निर्माण तयार भएको चलचित्र ‘चुरिफुरी’मा रबिन्द्र झा,सुबोध गौतम , राजिब जङ्ग बस्नेत , अभिषेक श्रेष्ठ ,शिशिर भन्डारी, पवन खतिवडा, पुजा पन्त,सोना बज्राचार्य, दिपक आचार्य ,सुरबिर पन्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल,ऋतु आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । दिपक शर्माको संगीत तथा राहुल राईको छायांकन रहेको चलचित्रलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।
निर्देशक आचार्य र रिना ढकाल (भन्डारी) निर्माता र विमला भुसाल,राजेन्द्र खाती एवं शिव थापा सह(निर्माता रहेको चलचित्रलाई डि.सि.एनले वितरणको जिम्मा लिएको छ । चलचित्र पत्रकार संघ नेपाल,दाङका निवर्तमान अध्यक्ष ध्रुवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको साक्षात्कार कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।