रौतहट,
३१-वैशाख/ रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्र रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो । आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान केन्द्रको मतदान रद्द भएको जनाएको छ । सो मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो ।

यसै गरी गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा विवादको क्रममा झडप हुँदा १५ जनाको टाउको फुटेको थियो । जसका कारण सो ठाउँमा रहेका दुई वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ । गढीमाई नगरपालिका–६ स्थित सिंगारवनमा रहेको दुई वटा मतदान केन्द्रका मतदान रद्द गरिएको छ । विवादको क्रममा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकल समेत आगजनी गरिएको थियो ।

बौधिमाई नगरपालिका–२ का ३ वटा मतदान केन्द्र र वडा नम्बर ९ को दुई वटा मतदानकेन्द्रको मतदान पनि रद्द भएको छ । बौधिमाई नगरपालिका–२ स्थित इनरवा मतदान केन्द्रमा प्रर्दशनकारीले मतपेटिका फुटाएका थिए । मतदान स्थलको सबैभन्दा विचित्र दृश्य भने रौतहटको यमुनामाईमा देखिएको थियो । युमनामाई गाँउपालिका वडा नम्बर १ र २ का मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो ।

यमुनामाई–२ भेडियाहीमा मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर भागेका थिए । मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीकै अगाडिबाट मतपेटिका बोकेर भाग्दा पनि सुरक्षाकर्मी मुकदर्शक बनेर बसेका थिए । मतपेटिकका लुटिएको मतदान केन्द्रको निर्वाचन पनि रद्द भएको छ । यमुनामाई गाँउपालिका– १ का तीन वटा र वडा नं। २ का दुई केन्द्रको मतदान रद्द भएको छ ।

प्रतिकृया

प्रतिकृया