प्रिया स्मृती गजमेर,लमही
२६-जेठ/ लमही नगरपालिकाको पशु उपशाखाले वडा नम्बर १ को शितलापुर र बसन्तपुरमा स्वास्थ्य पशु उत्पादन दिगो आम्दानीको आधार भन्ने मुल नाराका साथ निःशुल्क बाँझोपन तथा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिबिरलाई सम्बोधन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले दुर्गम बस्तीका किसानको प्रत्यक्ष फाइदका लागि निशुल्क पशु स्वास्थ्य शिबिर गर्दै आएको बताईन । अघिल्ला जनप्रतिनिधिले शुरूवात गरेका यस्ता खाले कार्यक्रमलाई निरंतरता दिदै जाने उपप्रमुख योगीको भनाई छ ।

कार्यक्रममा उपप्रमुख योगीले आफ्ना पशुहरुको बारेमा कुनै किसिमको अप्ठ्यारो नमानेर समस्या राख्न अनुरोध गरिन । केही समस्या हुना साथ नगरपालिकामा गुनासो राख्न पनि भनेकी छन । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम् लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले निशुल्क स्वास्थ्य शिबिरमा सहभागी भएर भरपुर लाभ लिन आग्रह गरे । ‘किसानहरु अब परम्परागत पशु व्यवसायलाई बदल्दै आधुनिक तरिकाले पशु पालन गरि आर्थिक पाटोमा बलियो बन्नु पर्छ’ प्रमुख चौधरीले भने ।

वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले आम्दानीको स्रोत बढाउने बाख्रा पालन अब व्यवस्थित भएर गर्न किसानलाई आग्रह गरे । सधै रोजगारका लागि बाहिर जानू भन्दा थोरै संख्यामा पालिएका पशुहरुको संख्यामा वृद्धि गरेर लैजान आवश्यक रहेको वडाध्यक्ष पौडेलले बताए । किसानको आयस्तरमा परिवर्तन ल्याउनका लागि वडा कार्यालय र नगरपालिकाले सकेको जति पहल गर्ने उनको भनाई छ ।

बिहीबार आयोजित शिविरमा शितलापुर र बसन्तपुरका किसानका बाख्रा, गाई, भैंसी, बङुर गरि झण्डै ३ सय पशुहरुले उपचार पाएको लमही नगरपालिका पशुसेवा उपशाखाका अधिकृत शिवराज न्यौपानेले जानकारी दिए । शिबिरमा पशु डाक्टर सहितको टोलीले उपचार गरेको हो ।

प्रतिकृया

प्रतिकृया