लक्ष्मण बस्नेत,तुलसीपुर
२७-जेठ/ जिल्ला स्तरिय कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स शुक्रबारदेखि तुलसीपुरमा सुरु भएको छ । दाङ जिल्ला कराते संघको आयोजनामा संचालित रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्सको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर खड्काले सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको मुख्य मेरुदण्ड भएको बताए ।

‘स्वस्थ, अनुशासित र समाजका लागि नैतिक जिम्मेवार नागरिक तयार गर्ने थलो खेलकुद नै हो, यसले रास्ट्रकै सान र गौरव लाई सदैव उच्च राख्छ यसर्थ यो मानव जिवनको मुख्य मेरुदण्ड हो’ उनले भने । साथै उनले सबै संग सहकार्य गरेर खेलकुदको विकास र विस्तार गर्नमा आफू प्रतिबद्ध भएर लाग्ने बताए । कार्यक्रम दाङ जिल्ला कराते संघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य टेक बहादुर बिक र नेपाल सितोरियो कराते संघका केन्द्रिय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठको विशिष्ट आतिथ्यमा भएको थियो ।

रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्सको मुख्य प्रशिक्षकमा नेपाल सितोरियो कराते संघका केन्द्रीय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठ, नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली लगायत रहेका छन् । तीन दिनसम्म संचालन हुने कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका ६० बढी सिनियर खेलाडीहरुको सहभागिता रहेको छ । संघका सचिव मोहलाल थापाको स्वागत रहेको कार्यक्रममा मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठले कार्यक्रमको औचित्य र महत्त्व माथी प्रकाश पारेका थिए । कार्यक्रमको संचालन दाङ जिल्ला कराते संघका पुर्व सचिव तथा खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया