दाङ,
१-असार/ ब्याजदर बढेर पछिल्लो ५ वर्षयताकै उच्च विन्दुमा पुगेसँगै साना मझौला कर्जा दिने र आफ्नो आवश्यकता पुरा गर्ने मानिसहरु समस्यामा परिरहेको समयमा स्कोडाको गाडी किन्ने ग्राहकले बीना ब्याजनै गाडी किन्ने अवसर पाउने भएका छन् । नेपालका लागि स्कोडा मोटर्सको आधिकारीक वितरक एमएडब्लू स्कोडाले शून्य प्रतिशत ब्याजदरको स्कीम ल्याएर आफ्नो र्यापीड मोडल विक्री गर्ने योजना अगाडि ल्याएको हो ।
कम्पनीले नयाँ ल्याएको स्कीममा गाडी किन्ने ग्राहकले ५० प्रतिशत रकम अनिवार्य जम्मा गर्नु पर्ने हुन्छ भने बाँकी रकम ४ वर्षमा भुक्तानी गर्नु पर्ने हुन्छ । सामान्यतया बैंक तथा वित्तिय संस्थाले गाडीमा ७ वर्षको कर्जा सुविधा दिने भएपनि यो ब्याज नलाग्ने अफरमा किन्दा ४८ किस्ता सम्पूर्ण कर्जा भुक्तानी गरिसक्नु पर्ने हुन्छ । कम्पनीले र्यापीडको एम्बीसन अटोमेटीक भेरियन्टमा मात्रै यो अफर दिएको छ । यसको मूल्य ५० लाख ९० हजार निर्धारण गरिएको छ ।
यसलाई कम्पनीले दिएको स्कीम अनुसार किन्ने ग्राहकले २५लाख ४५ हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । त्यति नै रकम कर्जा बापत लिन सकिन्छ । यसरी लिँदा मासिक ५३ हजार रुपैयाँ मासिक किस्ता बुझाउनु पर्ने हुन्छ । यूरोपियन कार कम्पनी स्कोडाले भारतमा बनाएको र्यापीड मिडसाइज सेडान कार हो । नेपाली बजारमा यो सेग्मेन्टमा र्यापीडको उल्लेखिय बजार हिस्सा रहेको छ ।