घोराही,
९-असार/ दाङ महिला जेसीजको जेसीज सप्ताह–२०२२ अन्तर्गत छैठौँ दिन घोराहीमा स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ । दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारको प्रमुख आतिथ्यतामा भरतपुर मैदानमा प्रतियोगिता भएको हो । स्लो स्कुटी रेस प्रतियोगितामा अर्चना शर्मा प्रथम भएकी छिन् ।
१५ जनाले सहभागीता जनाएको प्रतियोगितामा दाङ महिला जेसीजकी शाखा सम्पादक शर्माले सबैभन्दा ढिलो दुरी पार गर्दै प्रथम भएकी हुन । त्यसैगरी जेसीजकी कानूनी सल्लाहकार अनिता ढकाल द्वितीय हुुँदा नारायणपुर उद्योग वाणिज्य संघकी कोषाध्यक्ष रेखा केसी तृतीय हुन सफल भएकी हुन । प्रतियोगितामा प्रथम हुने शर्माले ३१ दशमलव १९ सेकेण्ड, दोश्रो हुने ढकालले ३० सेकेण्ड र तेश्रो हुने केसीले २९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । कार्यक्रम संयोजक मेनका भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थापाठ उपाध्यक्ष लक्ष्मी घमालले गराएकी थिइन ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी निरिक्षक परियारले सडक अनुशासन र सवारी साधन संचालन गर्दा अपनाउनु पर्ने धैर्यता जस्ता आधारभूत ज्ञान सिकाउन यस प्रकारका कार्यक्रमले भूमिका खेल्ने बताए । उनले सामाजिक उत्तरदायित्वसहितको कार्यक्रम अन्तर्गत महिला जेसीजले विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरेको भन्दै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनले प्रतियोगिता जीत हारका लागि मात्रै नभई खेल अनुशासन र व्यक्तिको चरित्र निर्माणमा भूमिका खेल्ने हुँदा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमको अन्तिम कार्यक्रम शनिबार बिहान ११ बजे घोराही–१८ स्थित अम्बिकेश्वरी मन्दिर गर्ने कार्यक्रम रहेको दाङ महिला जेसीजले जनाएको छ ।