सल्यान,
२७-असार/ शिक्षा योजना निर्माण र बाल अधिकार सुनिश्चित गाउँपालिका बनाउनका लागि सल्यानको कपुरकोट गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा विद्यालय शिक्षा क्षेत्र योजना निर्माण र वालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । यस विषयमा जनप्रतिनिधी, कर्मचारी, शिक्षा समितिका सदस्य, शिक्षा क्षेत्रमा काम गरेका स्थानिय बुद्धिजिविहरु, मावि र आधारभूत विद्यालयका प्रधानाध्यापक तथा बालक्लवका प्रतिनिधिहरुवीच आइतबार र सोमबार दुई दिनसम्म छलफल, अन्तरक्रिया तथा अभिमुखिकरण भएको कपुरकोट गाउँपालिकाले जनाएकोे छ ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बालबालिका सबैको सरोकारको बिषय भएकाले बालमैत्री गाउँपालिका बनाउन स्थानीय तह, बिद्यालय, गैर सरकारी संस्था, अभिभावक लगाएत सबैको उत्तीकै दायीत्व रहने बताए । उनले अव छिट्टै नै पालिकाको शिक्षा योजना बनाउने पनि बताए । ‘योजना भनेको विकासको मियो हो । शिक्षा क्षेत्रको योजनावद्ध विकासको लागी पञ्चवर्षिय योजना बनाउन आउँदो आर्थिक वर्षको लागी बजेट समेत विनियोजन गरिसकेका छौँ,’ अध्यक्ष पुनले भने ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोट गाउँपालिकाको शिक्षा योजना बनाएर आफुहरुले शिक्षा क्षेत्रकोे विकासमा आमूल परिर्वतन गर्न चाहेको बताए । योजना बनाएर काम गर्दा, श्रोत, जनशक्ति तथा समयको उचित व्यवस्थापन हुने र दोहोरोपना समेत कम भएर जाने उनको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले शिक्षा क्षेत्रको विकास आफुहरुको पहिलो प्राथमिकता रहेको बताए । शिक्षा निति, शिक्षा योजना र स्थानिय पाठ्यक्रम निर्माणको काम अव तत्काल अघि बढाइने वलीको भनाई छ ।

शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम केसीले पालिकाको शिक्षाको विकासको लागी हुने सकारात्मक काममा आफुहरुको पुर्ण सहयोग हुने बताए । शिक्षा योजना निर्माणका विषयमा पुरुषोत्तम गिरीले अभिमुखिकरण गरेका थिए । गाउँपालिकाको नीति, कार्यक्रम, सेवा प्रवाह र संरचनालाई बालमैत्री बनाई बाल अधिकार सुनिश्चित भएको गाउँपालिका निर्माण गर्ने उद्देश्य अनुरुप जनप्रतिनिधी, कर्मचारी, शिक्षक, वालवालिका र सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको हो । वालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रमबारे प्रशिक्षक गिरी संगै दामोदर शर्माले अभिमुखिकरण गरेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालय सल्यानका हरि सापकोटाले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया