एजेन्सी,
२०-कात्तिक/ भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ ।

विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ । धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्रमा खराब अवस्था छ । धानबाली पराल जलाउने तथा उच्च गाडीको चापका कारण नोभेम्बर महिनाको सुरुदेखि नै दिल्लीमा प्रदूषण बढेको छ । डिजेलबाट चल्ने ट्रक तथा अरु साना गाडीलाई चलाउन रोक लगाइएको छ ।

दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेको छ । विज्ञले दूषित हावा बालबालिका र वृद्धवृद्धाका लागि निक्कै खतरनाक रहेको बताएका छन् । प्रदूषणका कारण श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउनेलगायतका लक्षणसहित बिरामी बढेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

प्रतिकृया

प्रतिकृया