लक्ष्मण बस्नेत, दाङ
११-जेठ/ एन्फा प्रेसिडेन्ट कप अन्तर विधालय स्तरिय फुटबल प्रतियोगिता २०८० जेठ १४ गते आइतबारदेखि हुने भएको छ । दाङ जिल्ला फुटबल संघ र रेफ्री संघ दाङको संयुक्त आयोजनामा यहि जेठ १२ गतेदेखि हुने भनिएको प्रतियोगिता आन्तरिक तयारीका कारण जेठ १४ गते देखि हुने भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा दिपशिखा माबी घोराही र गोरक्षनाथ माबी घोराही भिड्नेछन् ।
बेलझुण्डी रंगशालामा हुने प्रतियोगितामा आठ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरु सम्मेलित टिमको सहभागिता रहनेछ । जिल्लामा फुटबल खेलको बिकास र बिस्तार संगै बिधालय स्तरका नवप्रतिभावान खेलाडीहरुको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले ५० हजार नगद, कप मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विद्या तर्फका खेलाडिहरुलाई नगद २ हजार तथा ट्रफिले पुरस्कृत गरिने दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले जानकारी दिए । एक सातासम्म चल्ने प्रतियोगितामा जिल्लामा स्थापित निजि तथा आवासीय र सामुदायिक गरि ५२ विद्यालयको सहभागिता रहनेछ।
यसैबिच आयोजक दाङ जिल्ला फुटबल संघको तयारी बैठकले प्रतियोगिता लाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्नका लागि अध्यक्ष संजात धिताल संयोजक रहेको प्रतियोगिता मुल आयोजक समिती गठन गरेको छ । त्यस्तै बैठकले मुल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिती गठन गरेकोछ । जस अनुसार अनुशासन तथा विवाद समाधान उपसमिति संयोजक सुधिर गुरुङ, आर्थिक व्यवस्थापन उपसमिती संयोजकमा रेफ्री संघ दाङका सचिब खुम बहादुर वलि लाई चयन गरेकोछ । त्यस्तै बैठकले आईतवार दिउँसो २ बजे हुने प्रतियोगिता उद्घाटन समारोहमा उपस्थितका लागि खेलप्रेमी, खेलाडी, शुभचिन्तक, पत्रकार लगायत सबैमा आग्रह गर्ने समेत निर्णय गरेको छ ।