दाङ,
१२-जेठ/ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ ।