बिष्णु भण्डारी

मनोवैज्ञानिकका अनुसार बाल्यावस्थालाई पूर्व बाल्यावस्था र उत्तर बाल्यावस्था भनी दुई चरणमा वर्गीकरण गरेको पाइन्छ । पूर्व बाल्यावस्था २ देखि ६ वर्षको उमेर हो भने उत्तर बाल्यावस्था ६ देखि ११/१२ वर्ष सम्मको समयावधि हो । जन्म पूर्व र जन्मपश्चात् परेको विभिन्न कुराले बाल विकासमा प्रभाव पार्छ । शरीरमा देखापर्ने शारीरिक तथा मानसिक प्रक्रियामा आउने परिवर्तनलाई बाल विकास भनिन्छ । अर्को भाषामा भन्नुपर्दा बाल विकास भनेको बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक र आध्यात्मिक पक्षमा आउने सम्पूर्ण परिमाणात्मक र गुणात्मक परिवर्तनको सिङ्गो प्रक्रिया हो ।

बाल्यावस्था तीव्र वृद्धि र विकासको अवस्था हो । बाल मनोविज्ञान  उसले बाँचेको पारिवारिक, सामाजिक, स्कुलिङ र सिकाइ जीवनको योग बनेर विकास भइरहेको हुन्छ ।भनिन्छ,बालबालिकाको सुरुवाती दिनहरू निकै नै महत्त्वपूर्ण हुन्छन र त्यसको असर जीवनभर रहिरहन्छ ।  जीवनको पहिलो १,००० दिनमा बालबालिकाले पाउने वातावारण र  अनुभवले उनी कति हँसिलो, स्वस्थ र ज्ञानी हुन्छन् भन्ने कुरा निर्धारण गर्दछ । बालबालिकाको विकास मुख्यत वंशाणुगत तथा बालबालिका हुर्कने वातावरणले प्रदान गर्दछ । वंशाणुगत गुणलाई वातावरणले गतिशील बनाउँछ ।तथ्यांक अनुसार ,वंशाणुगतको भूमिका करिब १०% र हुर्कने वातावरणको भूमिका झन्डै ९०% रहन्छ। यस अवस्थामा उनीहरूले पाउने पोषण, उत्प्रेरणा, स्वास्थ्य सेवा, संरक्षण, स्याहार, तथा सिकाइ अवसरले सर्वाङ्गीण विकास हुन्छ । बालविकासका सबै पक्षहरू एक अर्कामा अन्तरसम्बन्धित हुन्छन । एक पक्षमा नकारात्मक असर परेको स्थितिमा अरु पक्षमा पनि असर पर्दछ ।

यस अर्थमा विभिन्न पक्षको विकासात्मक दक्षताहरू बारे जानकारी लिनु आवश्यक हुन्छ । मस्तिष्क विकाससम्बन्धी अनुसन्धानका अनुसार बच्चा जन्मदा मस्तिष्क विकास भईसकेको हुन्छ तर मस्तिष्कमा भएका सम्पूर्ण स्नायु कोषहरू एकअर्कोमा जोडिसकेको हुँदैनन । बच्चा जन्मँदा २५  प्रतिशत मात्र स्नायुहरूको सञ्जाल बनेको हुन्छ । बच्चा जन्मेपछि सिकाइ अनुभवको आधारमा यी स्नायु कोष (न्यूरोन) एक अर्कोसँग जोडिँदै सञ्जाल निर्माण हुने कार्य अति छिटो हुने गर्छ । जन्मेदेखि ३ वर्षभित्रमा मस्तिष्कमा भएका कोषिकाहरू करिब ७५  प्रतिशत  एक अर्कोमा जोडिँदै अनुभवको सञ्जाल निर्माण हुन्छ । यसबाट जीवनभरको सिकाइ क्षमता निर्धारण हुन्छ ।

शिशुले सिकेका अनुभवहरू मस्तिष्कमा सञ्चित हुन्छन् र कोषिकाहरू जोडिँदै जान्छन् । मस्तिष्क विकास हुनका लागि पोषिलो खाना, तनावमुक्त वातावरण र उत्प्रेरणा अति आवश्यक हुन्छ । सामान्यत,हाम्रो देशमा बालबालिकाहरु ढाई वा तीन बर्षको उमेरदेखि नै विद्यालय जाने गर्दछन। यसरी निकै कम उमेरमा विद्यालय गएकै कारण बालबालिकामा ‘एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) जस्ता मानसिक समस्याहरु भएको अध्ययनले जनाउँछ।  एडीएचडी हुँदा एकाग्रता नहुने, आत्मबल कमजोर हुने लगायतका समस्या देखिन्छन् ।अध्ययनका अनुसार बालबालिकाहरु लाई कम्तीमा पाँच वर्षमा विद्यालय पठाउनु ठीक मानिन्छ।बालबालिकाहरु विद्यालयमा पठनपाठन गर्दै गर्दा निम्नानुसार विकासमा अभिभावक ,शिक्षक र विद्यालयले ध्यान दिन जरुरी छ।

१)शारीरिक विकास :उमेर अनुसार शरीरको तौल र उचाई बढ्नुका साथै शरीरका अंगहरुले राम्ररी काम गर्नुलाई  नै शारीरिक विकास भनिन्छ।सामान्यतया बालबालिकाहरु तिनवर्ष पछि सजिलैसित हिडन,कुद्न,खेल्न,इसारा गर्न,चित्रहरु बुझ्न अनि चिन्न,आफ्नो नाम उमेर भन्न,आफैखाना खान,इच्छा व्यक्त गर्न,सरल शब्दको वाक्य बनाउन सक्नुपर्दछ भने पाचौं वर्षसम्ममा हिड्नमा तालमेल बनाउन,पूरा वाक्य बोल्न ,धेरै शब्दहरूको प्रयोग गर्न, उल्टा चिजहरू बुझ्न जस्तै मोटो र पातलो, अग्लो र होचो आदि,आफै कपडा लगाउन,भान्साको काममा सघाउन ,सजिला प्रश्नहरूको जवा दिन,हात मुख सफा गर्न र पाँच  देखि दश चिजहरूको गन्ती गर्न जानिसकेको हुनुपर्दछ।

यो उमेरमा अभिभावकहरुले नानीसँगसँगै किताबपढ्ने ,फोटाहरूसित कुरा गर्ने,कथाहरू सुनाउने र कविता,गीत सिकाउनेखाना खान हौसला दिने, कपडा लगाउने, हात धुने र शौचालयको प्रयोग गर्न सिक्नमा मदत गर्ने नानीबाबुहरु सँग घुलमिल गर्ने र संगै खाना खानेजस्ता कार्यहरु गर्नुपर्दछ। विद्यालयमा पनि बालबालिकाको शारीरिक विकासका लागि प्रशस्त खेल मैदान र खेल सामग्री हुनु पर्दछ।  बालबालिका खेल्न मनपराउँछन् र खेलले बालबालिकाको धेरै क्षेत्रको विकास गराइरहेको हुन्छ ।

जस्तैः नियम पालना गर्न समाजमा धेरैजनासँग मिलेर बस्न, अरुलाई पालो दिन, आफ्नो पालोका लागि धैर्य गर्न, अरुको जीतमा पनि खुसी हुन,अरुले जितेपनि अर्कोपल्ट आफुले जित्नसक्छु भनेर धैर्यता अपनाउन, छिटो निर्णय गर्न,खुसी रहन,कृयाशील भैरहन जस्ता सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।तसर्थ  विद्यालयले घरभित्र र घरबाहिर खेलखेल्ने समय दैनिकी आफ्नो कार्यतालिकामा राख्नु आवश्यक छ ।बालबालिकाको शारीरिक विकासका लागि तल्लो तह देखि नै योगा मेडिटेसन,पौडी ,नृत्य जस्ता कार्यक्रम संचालन गर्दै जानुपर्दछ।विद्यालयले निरन्तररुपमा भलिबल,फुटबल, क्रिकेट , दौड जस्ता खेलहरु नियमितरुपमा संचालन गर्नुपर्दछ।

 २.   बौद्धिक विकासः बौद्धिक विकास भन्नाले विवेकको विकास, स्मरण शक्तिको विकास, तर्क गर्ने, समस्या सुल्झाउने, विश्लेषण गर्ने चेतनाको विकास आदि भन्ने बुझिन्छ । बौद्धिक विकासका निम्ति सरसफाइ, पोसिलो खाना, खेल, खेलौनाको आवश्यकता पर्दछ। साथै बौद्धिक विकासमा असर नपरोस भन्नका लागि विभिन्न रोगबाट बालबालिकालाई बचाउन जरुरी हुन्छ।
बौद्धिक विकासका अभिभावक र विद्यालयले निम्नानुसारका क्रियाकलाप गराउन जरुरी देखिन्छ

। जस्तो कि दुई वस्तुबीचमा फरक छुट्याउन ,एकै किसिमको र फरक किसिमको वस्तु छुट्याउन,लामो छोटो छुट्याउन र गन्ती गर्न, साधारण चित्र हेरेर सार्न, रङ्ग चिन्न, आकार छुट्याउन आवाज चिन्न, सुन्न, व्यक्तिको अनुहार चिन्न, वस्तुको खोजी गर्न, समस्या समाधान गर्न, तर्क दिन, सोचेर काम गर्न ।यस्ता खालका क्रियाकलाप समेटेर विद्यालयमा बेला बेलामा पढाईका अतिरिक्त  प्रोजेक्ट वर्क,प्रिजेन्टेसन,हाजिरीजवाफ ,वादविवाद,कविता,हिज्जे जस्ता प्रतियोगिताहरु संचालन गर्नुपर्दछ।कक्षाकोठामा हरेक दिन सोचनीय प्रश्न बनाइ बिद्यार्थीहरुलाई सोध्न सकिन्छ।
३.सामाजिक  तथा नैतिक विकास :
बालबालिकाहरु आफ्नो समाजका मूल्य मान्यतासँग सजिलै घुलमिल हुनसक्ने विकास नै सामाजिक विकास हो।बालबालिकाले अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै सामाजिकीकरणका आधारभूत सीपहरु सिक्दछन् । बालबालिकाले जे देख्छन् त्यही सिक्छन् । परिवारको मूल्यमान्यता,संस्कार र आमाबाबुले गर्ने व्यवहारले उनीहरूको सामाजिक विकासमा प्रभाव पारिरहेको हुन्छ।

प्रारम्भिक बाल्यावस्थामा बालबालिकाले सिकेका  बानी, व्यवहार,  सरसफाइ र नैतिक मूल्यले कालान्तरसम्म पनि दीर्घकालीन असर पारेको हुन्छ।सामाजिक विकासका निम्ति अभिभावक र विद्यालयले सामुहिक खेल, मनोरञ्जन, ,नातागोता चिन्ने जस्ता अवसरहरु जुटाइदिनुपर्दछ।विद्यालयमा विभिन्न  बाल क्लबहरु जस्तै कला सास्कृतिक क्लब,पेन्टिङ क्लब,इको क्लब,रोटरी क्लब,स्काउट ,रेड्क्रस क्लब आदि बनाएर सामाजिक विकासमा वृद्धि गर्न सकिन्छ।एकल सिकाई भन्दा पनि सामुहिकमा सिकाईप्रति बिद्यार्थीहरुलाई बढी प्रेरित गर्नु पर्दछ । घरमा पनि बालबालिकाहरुलाई बर्थडे पार्टी, जात्रा, मेला,पूजाआजा, विवाह जस्ता कार्यक्रममा सहभागी गराउनुपर्दछ । आजकालका  बालबालिकाहरु मोबाइल ल्यापटप टिभी सोसल मिडिया जस्ता प्रबिधिहरुले गर्दा सामाजिक पक्ष कमजोर बन्दै गएको छ।

विहान विद्यालय जानुभन्दा अगाडि, नमस्कार, शुभ प्रभात वा गुड मर्निङ भन्न लगाउनु पर्दछ। बालबालिकालाई आजको दिन हामी सबैको लागि विशेष छ , आज हामी धेरै राम्रा कामहरू गर्न सक्छौँ, लगायतका कुराहरूबाट उनीहरूमा एक किसिमको सकारात्मक उर्जाको सञ्चार हुन जान्छ।सानालाई माया अनि ठुलाई आदर गर्नुपर्छ भन्ने कुरा सिकाउनु पर्दछ। विद्यालयमा अनुशासित वातावरण कायम राख्न व्यावहारिक आचारसंहिता तथा त्यसको सहजरूपमा परिपालन गर्ने निष्पक्ष परीपाटी अबलम्बन गरिनुपर्दछ ।बालबालिकाको अनुशासनमा देखिएका कमीकमजोरीलाई सुधार्ने मौका पनि  प्रदान गर्नु पर्दछ।

  ४)संवेगात्मक ( भावनात्मक विकास ):
संवेगात्मक विकास भन्नाले माया, प्रेम ,विश्वास, उत्सुकता, रिस, डर, इच्छा, घृणा, सुरक्षा, प्रशंसा, प्रेरणा आदि हुन् । यो आन्तरिक भावनाको विकास हो।बालबालिका धेरै नै संवेदनशील हुन्छन् । माया, ममता, स्नेह, स्यावासी, प्रोत्साहन प्रेरणा बालबालिकाको संवेगात्मक विकासका आवश्यक तत्त्वहरू हुन् ।  उनीहरूले आफ्नो भावनालाई रोएर, हाँसेर, चिच्याएर, कराएर, रिस देखाएर आफ्नो मनमा भएको संवेग व्यक्त गर्छन् ।

बालबालिका आमाबाबु, शिक्षक ,परिवार र आफन्तबाट सधैँ माया, स्नेह पाउने आशा गरी रहन्छन् । यदि उनीहरूले आशा गरेजस्तो माया स्नेहपाएनन् भने उनीहरूको संवेगात्मक सन्तुलन हुँदैन । संवेगात्मक सन्तुलन नभएमा पछिसम्म डराउने, आत्मविश्वास कम हुने, आत्मनिर्भर नहुने हुन्छ । जसले गर्दा बालबालिका रिसाउने, झगडालु हुने, झिजो मान्ने, जे काम गर्न पनि नचाहने, एक्लै त्यसै बसिरहने, टोलाएर बस्ने, डराउने आदि हुन्छन् ।यस्ता  बालबालिकाले ओछ्यानमा पिसाब गर्ने, नङ, औँला चुसिरहने गर्छन् । पोषिलो भोजन  पाएका, माया, हौसला, प्रेरणा पाएका बालबालिका आत्मनिर्भर हुन्छन् ।

त्यसैले बालबालिकाको कुरा सुनिदिने, सोधेको जवाफ दिने, वातावरणमा घुलमिल गराउने, कथा सुनाउने, आफू पनि उनीहरु जस्तै नक्कल गरी खेल्ने र खेलाउने गर्नुपर्दछ। बालबालिकाहरुलाई माया र हौसला दिनाले उनीहरुमा विश्वास र सुरक्षाको भावना विकास हुन्छ, जुन पछि हुर्किदै र्जाँदा आत्मविश्वासमा परिणत हुन्छ । अभिभावकले गर्ने लगानी भनेको नै यही हो।अहिले यही कुराको कमिले बालबालिकाको नकारात्मक असर पर्न गई झनझन पढाइमा कमजोर हुदै गएको अवस्था छ।

बालबालिकाको विकासको क्रमसँगै उनीहरुमा तनाव बढ्दै जान्छ । उनीहरुमा विद्यालय प्रवेशसँगै तनावको दर बिस्तारै बढ्दो क्रममा हुने गर्छ । बालविकास सन्तुलित रुपमा हुन सकेमा उसका अन्तर्निहीत क्षमताहरु प्रष्फुटित हुने मौका पाउँछन् र एउटा परिवारको असल तथा जिम्मेवार सदस्य, समाजको असल व्यक्ति र राष्ट्रको असल नागरिक बन्न सक्छन।शिक्षक शिक्षिकाले विद्यालयमा तनाव ब्यबस्थापन सम्बन्धी कार्यक्रमहरु चलाउनु पर्दछ। दण्डसजाय नदिई सकारात्मक तरिकाले बालबालिकालाई दीर्घकालीन रूपका स्व-अनुशासनको क्षमताको विकास गराउनु पर्दछ।

५) भाषिक विकास:
भाषा विकासका भन्नाले बालबालिकामा सुनाइ, बोलाइ, पढाइ र लेखाइको विकास हुनु हो।यसले उनीहरुमा सुन्न, बोल्न , एक अर्कामा संवाद गर्ने सीपलाई बढाउँदछ।शिशु अवस्थाबाट नै यसको विकास भइरहेको हुन्छ।बच्चाले अरुले बोलेका कुरा वाभाषा चाडैं नै सिक्न सक्छन।मातृभाषाको प्रभाव चाडैं नै परेको हुन्छ। जसको लागि अभिभावकले बालबालिकासँग कुराकानी गर्ने, कथा सुनाउने, गीत गाउने, वस्तुको नाम बताउने, चित्र देखाएर बयान गर्ने गर्नु पर्दछ । विद्यालयले पनि प्रशस्त रूपमा बाल कथाहरु पढ्न र सुन्न लगाउनु पर्छ।
६) नेतृत्वगत विकास :
नेतृत्व क्षमता बालबालिकामा स्कुल उमेरबाटै सुरु भइसक्छ ।त्यसभन्दापनिअगाडि नेतृत्व–सीप घरबाटै सिक्न थाल्छन ।नेतृत्वभनेकोसमूहकोअगुवाइगर्नेकलाहो ।आफूजस्तैधेरैव्यक्ति, वर्ग, समूह वा समुदायको प्रतिनिधित्व गर्नु नै नेतृत्व लिनु हो ।जबबालबालिकाकाहुर्कनरबढ्नथाल्छनतब  आफूलगायत अन्य मानिसमा कसरी सकारात्मक प्रभाव पार्ने भन्ने सिक्न आवश्यक हुन्छ ।यस्तोसीपबालबालिकामाजन्मिदैआएकोहुँदैन ।तिनीहरुलेपरिवार, स्कुल र परिवेशबाट सिक्ने गर्दछन। नेतृत्व क्षमता विकास गर्न पारिवारिक भेला, जमघट र समारोहहरूमा भाग लिन दिनुपर्दछ ।

स्कुलमाहुनेअतिरिक्तक्रियाकलाप, शैक्षिक भ्रमण र खेलकुदका कार्यक्रमहरूले पनि नेतृत्व क्षमता बढाउन मद्दत गर्छन् ।त्यसैलेत्यस्ताकार्यक्रमलाईविद्यालयलेबेवास्तागर्नुहुँदैन। यसका साथै बालबालिकाले विभिन्न जात ,समुदाय,धर्म, परिवेशसँग घुलमिल हुनसक्ने क्षमताको पनि विकास हुन जरुरी छ। एउटा  विद्यालयले आदर्श विद्यालय बन्नका लागि बालबालिकालाई रमाउदै सिक्न सक्ने वातावरण बनाउनु पर्दछ भने एउटा असल शिक्षक विधार्थीको सिकाइको लागि प्रेरणाको असीम श्रोत बन्नु पर्दछ।तसर्थ, बालबालिकाको सर्वाङ्गीण विकासको महत्वपूर्ण पक्षमा सकारात्मक उत्प्रेरणा दिन कुनै कञ्जुस्याई नगरौँ ।

प्रतिकृया

प्रतिकृया