एकराज भण्डारी

मिति :– २०७७ जेष्ठ २३ गते आईतबार
समयः– करीब ४ः४५ बजे ।
स्थानः– तुलसीपुर–५, बाहीनि चोक, दाङ ।

पृष्ठभूमी :
शिक्षामहाशाखा तुलसीपुर दाङको जारी परिपत्रानुसार शैक्षिक बर्ष २०७७ को नतिजा यहि महिनाको मशान्त सम्म र कक्षा ८ को विवरण २७ गतेभित्र शिक्षा महाशाखामा पु¥याइ सक्नुपर्ने भन्ने रहेकोले, म मा.वि. दोघरे, तुलसीपुर – ९, दोघरेको नि.मा. तहको अंग्रेजी शिक्षक (नियुक्तिले) तर कम्प्युटर विषय समेत पढाउने भएको हुँदा परीक्षाका सम्पूर्ण कामहरु गर्नुपर्ने जिम्मेवारी र हेडसरले समेत फोन गरेर “एकराज सर ! परीक्षाको नतिजा प्रकाशन गर्ने कामको जिम्मेवारी हजुरको हो है समयमा नतिजा प्रकाशन गर्नुपर्दछ । ” भन्नु भएको कारण म विद्यालय जानको लागि तयारी गरे ।

आज भोलि किन पो ड्रेस लगाउनु प¥यो र यत्तिकै आउट ड्रेसमै जान्छु भन्ने सोचेर मुखमा डबल मास्क, आँखामा चस्मा, हातमा पञ्जा अनि गोजीमा स्यानीटाइजर सहितका सम्पूर्ण सुरक्षा सामग्री सहित बाइक स्टार्ट गर्दै गरेको बेला सम्झे निशेधाज्ञा जारी छ कतै प्रहरीको चेकिङ त छैन होला ?

यहाँबाट (बेलझुण्डी) बाट विद्यालय पुग्नपनि त टाढै छ भन्ने लाग्यो अनि हाम्रो विद्यालयको यस वर्ष परिचयपत्र छपाउने कार्यपनि भएको थिएन । सम्झे म त तुलसीपुर नगर जेसीजको सदस्य पनि त हुँ । अनि श्रीमतिलाई जेसीजको परिचयपत्र ल्याईदिनका लागि अनुरोध गरे र घाटीमा परीचयपत्र भिरेर म घरबाट विद्यालय तर्फ लागे ।

बाटोमा जाने क्रममा नभन्दै बिजौरीमा प्रहरीको चेकिङ रहेछ, अरु सम्पूर्ण बाइक, गाडीहरु चेकिङ अनि सोधपुछ हँुदैथियो, सायद घाटीमा भिरेको परिचयपत्रका कारण होला मलाई सोधपुछ केही गरिएन र म सजिलै त्यहाँबाट अगाडी बढे । र, मनमनै सोचे परीचयपत्र ल्याएको कामै लागेछ । म पर्सेनी पुग्दा त्यहाँपनि चेकिङ भैरहेको थियो, म त्यहाँबाट पनि अगाडी बढे । अनि हात्तिखौवा पुग्दापनि चेकिङ रहेछ र त्यहाँपनि म सोही प्रक्रियाबाटै अगाडी बढे, लाग्यो यि शुरक्षाकर्मी हाम्रैलागि कति खटिएका छन् है ।

साच्चिकै देश र जनताको माया त राजनीति गर्ने नेतालाई भन्दा त देश र जनताको शुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छ । मलाई कतै कुनै अबरोध नभइकन विद्यालयमा पुगे आफूलाई तुलसीपुर नगर जेसीजको सदस्य भएकोमा गौरब पनि महशुस गरे ।

विद्यालय पुग्दा हेडसर पहिलेनै पुगेर प्रथम र दोस्रो त्रैमासिक परीक्षाका नतिजा फाईलहरु हेर्दैहुनुहुन्थ्यो । के कसरी नतिजा प्रकाशन गर्ने भन्ने विषयमा मोटामोटी छलफल ग¥यौ र हेडसरले भन्नुभयो “सर ! दिनदिनै विद्यालय आउनजान पनि अफ्ठ्रो छ, आवश्यक परेको कुराहरु विद्यालयको मेसेन्जर ग्रुप छ त्यसैमा छलफल गरेर गरौला, यी फाइलहरु घरलिएर जानुहोस, घरमा ल्यापटप पनि छ इन्टरनेट पनि छ ।”

हेडसरका कुरा सुनेर मलाइ पनि सजिलो भयो र साच्चिकै हेडसरले मेरो समस्यालाई सम्बोधन गर्नसक्नुभो जस्तो महशुस भयो । तरपनि केही कामहरु त विद्यालयमै बसेर गर्नुपर्ने थियो, ति कामहरु सक्काएर बाँकी फाईलहरु झोलामा राखेर म विद्यालयबाट निस्किए । हाम्रो विद्यालयको एकजना स्टाफ, आदरणीय कृष्ण सरको घरमै किराना पसल रहेकोले, पूर्व सल्लाह बमोजिम उहाँको घरमा गएर घरको लागि आवश्यक केही सामानहरु समेत लगेर जाने योजना सहित म बाहिनी चोकको बाटो भएर लागे । बाहीनी चोकमा पुग्दा–

घटना–१
बाहीनी चोक नेर को पश्चिम साइडको फुटपाथमा ३ जना दिदीहरु दुरी कायम गरेर, मास्क लगाएर अनि छेउमै स्यानीटाइजर राखेर तरकारी : बोडी, भिन्डी, करेला, काक्रा, अनि न्यूरो राखेर बेच्न बस्नुभएको थियो । तरकारी किन्ने मानिसहरुपनि कोही थिएनन्, दुईजना बहिनीहरु किनीसकेर निस्कदै हुनुहुन्थ्यो । भिडभाड केहीपनि थिएन, मलाई आफुलाई सुरक्षित लाग्यो र घरमा पनि तरकारी सकिएको थियो ।

पाईएको बेला लगिहालौ भनेर म बाइक रोकेर तरकारी किन्नथाले । त्यत्किैमा शसस्त्र प्रहरीको भ्यान साइरन बजाउदै आयो र त्यहिनेर रोक्यो अनि एक हुल सुरक्षाकर्मीहरु भ्यानबाट ओर्लनुभयो । कसैको मुखमा मास्क थियो भने कसैकोमा थिएन पनि, मैले झुरलुक्क हेर्न भ्याए ।

म आफ्नो काम गरिरहेको थिएँ तरकारी तौलेर केही झोलामा राखेको थिए केही राख्दै थिए । मलाइ लाग्यो सुरक्षाकर्मी आउनुभो अब केही सम्झाएर या अब देखि यस्तो नगर्नको लागि राम्रो सँग भनेर जानुहुन्छ होला । तर त्यहा मैले कल्पना गरेको भन्दा फरक व्यवहार पाएँ, त्यहाँनेरका सम्वाद म जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु ।

प्रहरी :– ए किन ह ? तिमीहरु यहाँ सामान बेच्न थालेको ? तुरुन्त उठाएर भाग ।
तरकारी बेच्ने दिदिहरु :– केही बोल्न सकेनन् । ( डराएको जसरी आफ्नो सामानहरु उठाउन खोज्दै रहेको अवस्था)
म :– केही तरकारी पुग्दै गरेको र पैसा उहाँलाई दिदै गरेको ।
पहिलो प्रहरी :– ( सायद मलाई नै होला ) ए ! के हो यो ? के गरेको ?
म :– हजुर तरकारी रहेछ सर, घरमा आवश्यक पनि थियो अनि लग्न थालेको ।
दोस्रो प्रहरी :– ए किन बोलिरहन्छ ह यो ? भिडभाड गर्ने ?
म :– चुप ।

मलाई थाहा थियो त्यहानेर विवाद गर्नु ठिक थिएन । जवाफ नदिनुनै उचित ठाने, किनकि मेरो दिमागमा त्यतिनैबेला मैले कक्षाकोठामा पढाउदै गर्दा पछिल्लो बेन्चमा बसेर फटाहा टाइपले हल्ला गरेर बस्ने विद्यार्थीको झल्को आयो र सोचे सायद त्यतिबेलानै मैले त्यसलाई सुधार्न सकेको भए । सायद मैले त्यतिबेला उस्लाई सुधार्नका लागि बोलेका बचनको आज जवाफ दिदैछ उल्ले ।
म चुपचाप बाइक स्टार्ट गरेर त्यहाँबाट निस्किन थाले –

घटना – २
त्यतिकैमा एकजना टु ट्वन्टी पल्सर ल्याएर, एकजना ज्याङगो देखिने भाईको आगमन भयो उसको पनि मुखमा मास्क थिएन, त्यहि दोस्रो प्रहरुसँग :
त्यो भाई :– दाइ नमस्ते । के छ खबर ?
प्रहरी :– ठीक छ यार भाई, तिम्रो के छ ? व्यापार त खुब चलेको छ है, लकडाउनमा पनि ?
त्यो भाई :– के हुन्थ्यो र दाई, ठिकै छ भनौ ।

त्यसपछि म कृष्ण सरको घरमा पनि नगईकन आफ्नो घरतिर हिडे । मेरो मनमा धेरै कुरा खेल्यो, त्यो प्रहरीको व्यवहार म प्रति बिझिरहेको थियो । म एक शिक्षक, विद्यार्थीहरुलाई कसरी बोल्नु पर्दछ ? के बोल्नुपर्दछ? को सँग कस्तो व्यवहार गर्नुपर्दछ यि सब कुरा सिकाउदा सिकाउदै आज १७ वर्ष वितिसकेको छ तर आज मैले एउटा देशभक्त प्रहरी ले ति फुटपाते व्यापारी हरुप्रति गरेको व्यवहार अनि म सँग बोलेको शैली ।

विचरा ति दिदीहरुले ति तरकारीहरु कतै बेचे होलान कि नाई ? साँझ तिनको घरमा चुलो बल्यो होला कि नाई ? घर जाँदा तिनका छोराछोरीले आमा चामल खोई ? तेल खोई ? साबुन, सलाई, अनि नुन खोई ? भनेर सोध्दा ति दिदीहरुको जवाफ के आए होला ? ति दिदीहरुले ती प्रहरीलाई कस्तो रुपमा ल्याए होलान ? रोग आफ्नो ठाऊमा छ ? तर भोक ? गा¥हो छैन त जिवन धान्न ? के ऐन, नियम, कानुन गरीबलाई मात्र लाग्छ त ? गरीबलाई मात्र लाग्ने रहेछ भन्ने कुरा त दोस्रो घटनाबाट स्पष्ट छैन र ? यसपटक त बिहान काम गरेको मेरो घाटीमा रहेको तुलसीपुर नगर जेसीजको परिचयपत्र पनि म तिर हेरेर सरी है मेरो केही लागेन भन्दै थियो । मलाइ आफैमा हासो पनि अनि सँगसगै रीस पनि, त्यहिबेला मेरो मनमा प्रकाश सपुतको एउटा गित गुञ्जिरहेको थियो ।

सक्नेले गर, नसक्ने पर, तर …..
मेरो पनि होइनर ? यो देश मेरो पनि होइन र ?
म त्यहि गित गुञ्जाउदै आईरहेको थिए फेरी प्रहरी देखेर झसङ्ग भए, म त विजौरी आई पुगेछु ।

घटना – ३
तर यहाँ घटना फरक थियो । यहाँ पनि एकजना भाई फलफुल (लिचि) ठेलामा राखेर प्रहरीको अगाडि बेचिरहेका थिए । कोही पनि थिएनन मलाइ लिचि पनि लग्न मन लाग्यो अनि फेरी बाईकबाट ओर्ले र एक के. जि. लिचि प्रहरी कै अघि देखि लगेर गए । यस पटक केही पनि भएन ।

फेरी मेरो मनमा कुरा खेल्न थाल्यो – प्रहरी प्रशासन अनि निर्देशन त एउटै हुनु पर्ने होइनर ? तर ति माथिका फरक–फरक घटनामा फरक–फरक चरित्र भएका व्यक्तिहरुलाई नियाल्ने अवशर पाए । म घर आई पुगे तर पनि त्यो सबै परीदृष्यहरु मेरो मानसपटलमा घुमिरहेको थियो अनि कति बेला कसलाई व्यक्त गरौ भईरहेको थियो । फेरी सोचे यो एक दुई जनालाई होइन पुरै दुनियालाई सुनाउछु । अनि एउटा दैनिकि लेख्ने निधो गरे ।
तसर्थ “एउटा व्यक्तिको व्यवहार नराम्रो हुन गयो भने सिङ्गो प्रहरी प्रशासन नै वदनाम हुन्छ ।” मुस्कान सहितको प्रहरीको सेवा । र प्रहरी मेरो साथि भन्ने खोक्रा नाराहरु लगाउन जरुरी छैन । सम्बन्धित पक्षको ध्यान जावस् ः
“शासन व्यक्तिको होईन विधिको हुनु पर्दछ ।”

(लेखक मावि दोघरेका शिक्षक हुन् ।)

प्रतिकृया

प्रतिकृया