राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे । उनी २०३३ साल कात्तिक २२ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा बुवा उमाकान्त रजौरे र आमा गितादेवी रजौरेको कोखबाट काइली छोरीको रुपमा जन्मिएकी हुन् । उनको वाल्यकाल रजौरामै बितेको थियो । आफ्नो वाल्यकाल सामान्य तरिकाले बितेको उनी बताउँछिन् । उनी वाल्यकालमा पढाई बाहेक खाना बनाउने, घरको सरसफाई गर्ने, खेतीको कामलाई भैसीको स्याहार लगायत काम गर्ने गरेको उनी सुनाउँछिन् । तर आफु घरको कामभन्दा पढाइमा धेरै रुची राख्ने गरेको बताउँछिन् । वाल्यकालमा आफुले विज्ञान बिषय पढ्ने, प्लेन चढेर घुम्न जाने ठुलो रहर रहेको उनी सुनाउँछिन् । अहिले आफ्नो पेशा त्यही अनुसारको रहेकाले धेरै ठाउँहरु घुमेको बताउँछिन् । तर पहिले आफुले पत्रकारिता गर्छु भन्ने सोच कहिले नआएको उनी सुनाउँछिन् ।

उनले तुलसीपुरमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा २०४१ सालदेखि पढाइ सुरु गरिन् । पाँच बहिनी मुनीको एक मात्र भाइ सानो रहेको आफु सानोमा स्कुल जान भन्दा भाइलाई रेखदेख गर्न मन लाग्ने गरेकाले १० वर्षको उमेरमा मात्रै कक्षा १ मा भर्ना भएको उनी बताउँछिन् । उनले त्यही स्कुलबाट २०५० सालमा एसएलसी पास गरिन् । उनी कक्षा एक देखि १० सम्म अध्यन गर्दा कक्षामा सधैं प्रथम हुन्थिन । विद्यार्थी जीवनमा विभिन्न प्रतियोगामा भाग लिने पुरस्कृत हुने गरेको उनि बताउँछिन् । एसएलसीपछि उनी बाँकी अध्ययनको लागि घोराहीमा गइन् । नारायणीको बुवाले पाल्पाको साईन्स क्याम्पसमा उनलाई पढाउने योजना बनाउनु भएको थियो तर त्यही समयमा उनको भाईको मृत्यु भएपछि उनी घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भइन ।

उनले महेन्द्रबाट कर्मस विषय लिएर २०५२ सालमा आईकम पास गरिन् । त्यसपछि उनको पढाई रोकियो । त्यसपछि उनी तुलसीपुरमा रहेको स्टार बोडिङमा बढाउन सुरु गरिन् । करिब दुई वर्ष त्यहाँ पढाएपछि उनको बिहे भयो । बिहे भएर छोरो जन्मिएपछि पनि उनी पढाउने काम गरिन् । त्यसपछि करिब सात वर्षको अन्तरालमा राप्ती बबई क्याम्पसमा कमर्स पढाइ नहुने भएपछि साहित्य नेपाली विषयमा आईए पास गरिन । त्यसपछि पोल्टिकल साईन्स लिएर ब्याचुलर पास गरिन् । त्यसपछि फेरी उनी पत्रकारितामै व्यस्त भइन् । लामो समयको अन्तरालमाफेरी उनी महेन्द्र बहुमुखी क्याम्पसबाट पोल्टिकल साइन्स बिषयबाट तीन वर्ष पहिले मास्टर पास गरिन् ।

पत्रकारिताको यात्रा
नारायणी २०५६ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गरिन् । छोरा जन्मेको डेढ महिनापछि पत्रकारिता सुरु गरेको बताउँने रजौरे त्यस यता निरन्तररुपमा पत्रकारितामै आवद्ध छिन् । सुरुमा नेपाल प्रेस युनियन दाङले एक गाउँ, एक पत्रकार भन्ने राना सहित पत्रकारिता तालिम राखेको थियो । नारायणीलाई उनका साथीहरुले तालिममा सहभागी हुन आग्रह गरे । उनी प्रेस युनियनको तीन दिनको तालिममा सहभागी भइन् । त्यो बेला कुलचन्द्र वाग्ले, बिपुल पोखरेल, सुदिप गौतम, मुरारी शर्मा लगायतले प्रशिक्षण दिएका थिए ।

पहिलो दिनको तालिमपछि दोस्रो दिनमा समाचार तयार गरेर ल्याउन आग्रह गरिएको थियो । त्यही समयमा तुलसीपुरबाट सभ्य साक्षी पत्रिका प्रकाशन हुन्थ्यो । त्यही पत्रिकाको अतिथि सम्पादक घनश्याम पाण्डे थिए । पाण्डेको सहयोगमा तुलसीपुरमा यात्रु प्रतिक्षालय नहुँदा नागरिकलाई सास्ती भन्ने शीर्षकमा नारायणीले समाचार तयार गरिन् । त्यो समाचार उत्कृष्ट भयो । तालिम पश्चात उनी दाङबाट प्रकाशित हुने राप्ती शन्देश पत्रिकामा जोडिइन् ।

त्यसको केही समयपछि उनी पत्रकार सागर पण्डितको सहयोगमा २०५८ सालमा बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिक पत्रिकामा आवद्ध भईन् लुम्बिनी दैनिकमा काम गर्ने क्रममा देशमा शसस्त्र द्वन्द्व चलेको थियो । तर रजौरे पत्रकारिताबाट पलायन भइनन् । द्वन्द्वको समयमा पुरुषहरुसँगै आफु एक्लै महिला रिर्पोटिङमा गएको उनी सुनाउँछिन् । पत्रकारितासँगै उनी असल शासन मार्फत महिला क्लब गठन गरेर भ्रष्टाचार विरुद्ध अभियान समेत सञ्चालन गरेकी थिइन् । त्यसबाट पनि उनी उत्कृष्ट काम गरेर राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् ।

सशस्त्र द्वन्द्वका समयमा बरिष्ठ पत्रकार बबिता बस्नेत दाङमा रिपोटिङमा आउनु भएको थियो उनी भन्छिन् उहाँसँग दुई दिन संगसगै रिपोटिङमा हिड्ने अवसर पाए । उहाँले फर्कने बेलामा सञ्चारीका समूह पत्रकार महिलाहरुको संस्था हो । ‘हामीले फिचर सेवा सञ्चालन गरेका छौ जिल्लामा तिमी यतिधेरै खटेर काम गर्दो रहेछौ फिचर पठाउनु भन्नुभयो उनि पठाउन सुरु गरे’ उनले भनिन् ।

त्यसपछि असल शासनकै कार्यक्रममा नारायणी काठमाडौँ गइन । त्यही समयमा उनको निर्मला शर्मासँग भेट भयो । शर्माले रजौरेलाई सञ्चारिका समुहमा प्रकाशित समाचारको पारिश्रमिक लैजान भनिन् । पारिश्रमिक लिन गएको समयमा बबितासँग भेट भयो । बबिताकै सहयोगमा उनी समाचारपत्र दैनिकका सम्पादक पुष्करराज श्रेष्ठसँग कुरा गरेर समाचारपत्रको कार्यालयमा लगिन र रजौरे त्यही पत्रिकामा आवद्ध भइन् । समाचारपत्रमा काम गर्ने क्रममा अदालतिय समाचार रिर्पोटिङ कसरी गर्ने भन्ने विषयमा हुन लागेको तालिममा सहभागी हुने अवसर पाइन् । उक्त तालिममा नेपालका २० जना पत्रकार सहभागी थिए । उक्त तालिममा गएको बेला उनको राससमा काम गर्ने एकजना सरसँग चिनजान भयो ।

सामान्य कुरा भएपछि दाङबाट राससमा कोही नभएको जानकारी पाइन । त्यो बेला दाङमा राससको अफिस अस्त व्यस्त रुपमा थियो । उनले समाचार पत्रमा त्यो समाचार लेखेर लेखेर पठाइन् । त्यसपछि एउटा सरकारी कार्यक्रममा गएको समयमा दाङका तत्कालीन एसएसपी गंगा पाण्डेले नारायणीलाई राससमा राख्नको लागि सिफारिस गर्न भनि प्रमुख जिल्ला अधिकारीसंग कुरा गरे । प्रजिअले राससका तत्कालीन प्रशासन प्रमुख रामकुमार कोईरालासँग टेलिफोनमा कुरा राखे र उनी २०६२ सालमा स्टेन्जरको रुपमा राससमा आवद्ध भइन् ।

राससमा उत्कृष्ट काम गरेपछि २०६३ भदौ २५ गते उनी करारमा नियुक्ति भइन । त्यसपछि ८ वर्षसम्म विभिन्न तहमा अस्थायीरुपमा काम गरीन् । आयोग लडेर उनि स्थायी भइन् । हाल अफिसर भएर काम गरिरहेकी छिन् । राससबाट राम्रो काम गरे वाफत उनले धैरैपटक पुरस्कार तथा सम्मान पाएकी छिन् । त्यस्तै महिला तथा बालबालिका मन्त्रालयबाट पनि उनी महिला तथा बालबालिकाको क्षेत्रमा उत्कृष्ट काम गरेको भनि पुरस्कृत भएकी छिन । जिल्ला स्तरमा चार दर्जन बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

राससको जग्गा छुट्याउने काम गरे
राससमा नियुक्ति पाएको दोस्रो दिनदेखि उनले अफिसको घरजग्गा संरक्षणमा लागिन् । आफु रिर्पोटिङको व्यक्ति भए पनि आफ्नो दायित्व सम्झेर जग्गा संरक्षणको काम गरेको उनी बताउँछिन् । उनले नापी कार्यालयबाट अमिन बोलाएर जग्गा छुट्याइन् । त्यसपछि अतिक्रमन परेको जग्गा निकालिन् । उनले आफ्नै पहलमा तारबार गरिन् । पत्रकारितासँगै राससको जग्गा सुरक्षित गर्दै आम्दानी पनि होस् भन्ने उद्देश्यले आफ्नै पहलमा सञ्चार मन्त्रालयसँग सहयोग मागेर १७ वटा टहराहरु निर्माण गरिन् । त्यसपछि भित्रको जग्गामा पार्टी प्यालेस निर्माणको लागि लिजमा दिइन । र अफिसको भवन निर्माण गरिन । पहिले दाङमा राससको आम्दानी शुन्य रहेकोमा अहिले वार्षीक २५ लाख आम्दानी हुने गरेको उनी बताउँछिन् ।

परिवारबाट साथ धेरै पाए
पत्रकारिता गर्ने समयमा आफुलाई परिवारबाट कहिले रोकावट नभएको उनी बताउँछिन् । परिवारको साथ बिना पत्रकारिता गर्न असम्भव रहेको रजौरेको भनाई छ । परिवारको साथले नै आफु शसस्त्र द्वन्द्वको समयमा रिपोटिङ गर्न विभिन्न जिल्लामा पुगेको बताउँछिन् । उनले हापुरेको वार्ता स्थलमा पुगेर रिर्पोटिङ गर्नुका साथै सेना समायोजनको समयमा कन्टेनर लगेर हेलिकोप्टर मार्फत दहवन समेत पुगेको उनी बताउँछिन् । मैले पत्रकारिता गर्ने समयमा छोरीहरु घर बाहिर निस्कन समेत मुस्किल थियो तर मैले परिवार, मेरो बुवा, दिदी बहिनी साथीभाईहरुसँग राम्रो साथ सहयोग पाएको उनी बताउँछिन् । सबै भन्दा धेरै आफ्नो श्रीमानले साथ दिएको उनी बताउँछिन् । आफु व्यस्त भएको समयमा श्रीमानले आफुलाई खाना बनाएर खुवाएको उनी सम्झिन्छिन् ।

उनले धेरै आवाज विहिनी, उपक्षेत, उत्पिडीत वर्ग, सुशासन, शान्ति र विकास, महिला, बालबालिका विषयमा रिपोटिङ गरेको बताउँछिन् । त्यस्तै विपदका समयमा पनि आफू अग्रपतिमा रहेर रिपोटिङ गरेको अनुभव छ । अहिले पत्रकारिता गर्नको लागि प्रविधिको विकास भएर पत्रकारहरुलाई धेरै सहज भएको उनी बताउँछिन् । तर अहिलेको तुलनामा पहिलेका पत्रकारहरु मेहनती र जिम्मेवार भएको महसुस आफुलाई हुने गरेको उनी सुनाउँछिन् । अहिले पत्रकारिता पेशामा राजनिती हावी भएको उनको भनाई छ । पत्रकारले कहिल्यै पनि आफनो धर्मलाई भुल्नु हुँदैन । कुनै पनि प्रलोभमा नपरी निष्पक्ष, सत्य तथ्य समाचार सम्प्रेषण गर्नु नै कर्तव्य रहेको उनी बताउँछिन् । अहिले नारायणी रजौरे नेपाल पत्रकार महासंघ दाङको राष्ट्रिय परिषद सदस्य, कमिटी पुलिसको अध्यक्ष, अफिशर्स क्लब तुलसीपुरको उपाध्यक्ष, सञ्चारिका समूह दाङ, रिपोर्टस क्लव दाङमा आबद्ध विभिन्न सामाजिक काममा समेत अग्रसर छिन् ।

वैवाहिक जीवन
नारायणी रजौरेको २०५४ साल जेठ २० गते मागी बिहे भएको थियो । बिहे भन्दा पहिले आफुले श्रीमानलाई नदेखेको उनी बताउँछिन् । आफु घोराहीमा अध्ययन गर्दै गर्दा बुवाले बिहेको कुरा फिक्स गरेपछि मात्रै मैले थाहा पाए उनी भन्छिन् । ‘खासमा मेरो दिदीको बिहे गर्ने कुरा चलेको थियो तर दिदीले बिहे गर्न नमानेपछि बुवा केटा पक्षलाई छोरी दिने वचन दिएकाले बुवाको वचनका लागि मैले बिहे गरे’ उनी सुनाउँछिन् । बिहेको समयमा आफु सानै भएकाले बिहे गर्दै छु, के हो कस्तो होला भन्ने केही सोच नआएको उनी हाँस्दै सुनाउँछिन् । तर बिहे गरेर गइसकेपछि श्रीमानले सबै कुरामा एकदमै सहयोग पाएको हुँदा आफु धेरै खुशी लागेको उनी बताउँछिन् ।

पत्रकारितामा विहेपछि मात्र सुरुवात गरेको उनको भनाई छ । बिहे अघि तनाव मुक्त स्वतन्त्र भए पनि बिहे पछि भने जिम्मेवारी बढ्ने गरेको उनी बताउँछिन् । नारायणीको श्रीमान २०७७ साल मंसिर १० गते किड्नीको क्यान्स भएर बित्नु भयो । शिक्षण पेशा तथा व्यापारमा संलग्न उनका श्रीमानलाई कोरोनाको पहिलो लहर सुरु भए लगत्तै पेट दुख्न थाल्यो । लगत्तै उपचारको लागि काठमाडौं लगेपछि मृगौलामा समस्या देखायो । त्यसपछि थप उपचारको लागि भारतको दिल्ली स्थित राजिवगान्धी क्यान्सर अस्पतालमा उपचारका लागि लगे पनि श्रीमानलाई बचाउन नसकेकोमा धेरै पिडा बोध भएको उनी सुनाउँछिन् ।

अन्य समयमा आफु पत्रकारितामै व्यस्त भएको बेला श्रीमानले धेरै साथ दिने, रातीमा अफिससम्म लिन आउने खाना बनाएर खुवाउनु हुन्थ्यो उहाँको मृत्यु पछि आफुलाई असह्य पीडा भएको उनी बताउँछिन् । आफुले पत्रकारिताको लागि धेरै समय दिए पनि अहिले भने सोचे अनुसारको घर परिवारको लागि धेरै समय दिन सकिन की भन्ने महशुस हुने गरेको उनी बताउँछिन् । अवको जीवन पनि अझै मेहनत गरेर इमान्दारिताका साथ आम नागरिकहरुको हकहितको लागि कलम चलाउँदै आफु कार्यरत सस्थालाई अझ धेरै उचाईमा पुर्याउने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया