दाङ,
१०-पुस /  जिल्लाका पुराना विकासप्रेमी नेताको निधन भएको छ । प्यूठानको उदयपुरबाट दाङ झरेर विकासका मामिलामा राजनीतिक यात्रा समेत तय गरेका घोराही–४ भैसाही निवासी गजराज अधिकारी (राजा)को शनिवार निधन भएको छ । उनको निधनले विकासको अवधारणा सुस्ताउने भन्दै उनका सहयोगीहरुले चिन्ता व्यक्त गरेका छन् ।

वि.सं १९८९ भदौ २७ गते प्यूठानको उदयपुरमा जन्मिएका शर्मा २०१८ सालमा दाङ झरेका हुन् । उदयपुरका अन्तिम राजा हरिप्रसाद अधिकारीका कान्छा छोरा गजराजलाई दाङ झर्ने बेला पनि उनकाका समकालीनहरुले उनलाई ‘राजा’का रुपमा सम्बोधन गर्थे । तर, उनले राज्य चलाउन नपाए पनि विकास प्रेमको लक्ष्यले राजाजस्तै भए । आजको गोरक्ष राष्ट्रिय दैनिकले समाचार छापेको छ ।

जसले काम धेरै गर्छ, जसले विकासप्रेमी काम गर्छ उही राजा हुने मान्यतालाई उनले सधै पछ्याए, । एक दिन संयोगले उनकै घर पुगेर खुशीको प्रसङ्ग सोध्दा पनि उनले विकास नै मेरो खुशी हो भनेका थिए । उनले त्यो बेला गोरक्ष सम्वाद्दातालाई सुझाइरहेका थिए, मैले लेख्न सक्दैन, मैले भनेका विकासका शृंखलालाई उपन्यास बनाउन चाहन्छु, कृपया टिपोट गर्ने मान्छे पठाइदिनुहोला ।

तत्कालीन अवस्थामा हरिद्वार गाविसका प्रधानपञ्च रहेका उनी घोराही नगरपञ्चायतका पहिलो प्रधानपञ्च समेत रहेका थिए । परिवार नियोजन संघको संस्थापक अध्यक्ष समेत रहेका उनी दर्जनौं संघसंस्थाहरुको नेतृत्व गर्दै समाजसेवामा सक्रिय थिए । पछिल्लो पटक अघिल्लो वर्ष परिवार नियोजन संघले उनलाई सम्मान समेत गरेको थियो ।

समाजसेवा वापत गोरखा दक्षिणबाहुबाट विभुषित समेत भएका अधिकारी भरतपुर स्कूल र महेन्द्र बहुमुखी क्याम्पसको सञ्चाललक समितिको अध्यक्षको समेत जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गरेका थिए । शनिवार विहान साढे ८ बजे आफ्नै निवास काठमाडौंमा निधन भएका अधिकारीको शनिवारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले बताएको छ । अधिकारीका श्रीमती, ५ छोरी र २ छोरा छन् ।

संघद्वारा दुःख व्यक्तः
यसैबीच शर्माको निधनमा नेपाल परिवार नियोजन संघ दाङ शाखाले दुःख व्यक्त गरेको छ । संस्थापक सभापति एवम् नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय सदस्य शर्माको निधनमा दुःख व्यक्त गरेको हो । शाखाको स्थापना गर्न र संघको लक्ष्य र उद्देश्य प्राप्ति गर्न तथा यस शाखाको कार्यक्रमहरुलाई जिल्लाका विभिन्न ठाउँमा पु-याउन भूमिका खेलेको शाखा अध्यक्ष निर्मला शर्मा रेग्मी र शाखा प्रबन्धक बसन्त खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यसमितिमा रहेर नेपाल परिवार नियोजन संघलाई समयानुकूल परिवर्तित गराउन जिल्ला तथा अन्य शाखा विस्तार तथा कार्यक्रम विस्तारका लागि शाखामा कुशल नेतृत्व प्रदान गरेको विज्ञप्तिमा भनिएको छ ‘संघले एक असल अभिभावक गुमाएको छ ,यस दुःखद् निधनबाट शाखा परिवार स्तब्ध र मर्माहत भएको छ ।’

प्रतिकृया

प्रतिकृया