खेमराज रिजाल/इन्द्र डिसी, दाङ
१४-पुस /  स्थानीय तह पुनर्संरचना आयोगले प्रधानमन्त्रीलाई बुझाउन तयार पारेको प्रस्तावमा दाङ जिल्लालाई १० तहमा विभाजन गरेको छ । जिल्लास्थित स्थानीय तह पुनर्संचना प्राविधिक सहयोग समितिले पठाएको दुईवटा विकल्पमध्ये पहिलो विकल्पलाई आयोगले आफ्नो अन्तिम प्रस्तावमा समेटेको स्रोतले जनाएको छ । आजको गोरक्ष राष्ट्रिय दैनिकमा समाचार छापिएको छ ।

प्रधानमन्त्रीलाई बुझाउन तयार पारिएको सो प्रस्ताव प्रधानमन्त्रीले बुझेपछि निर्वाचनको घोषणा गर्न प्रमुख दलहरुबचि सहमति बन्दै गरेको अवस्थामा अब दाङमा १० स्थानीय तहमा निर्वाचन हुनेछ । जिल्लास्थित स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले दोस्रो विकल्पका रुमा १२ वटा स्थानीय तह प्रस्ताव गरेको थियो । दोस्रो विकल्पमा उपमहानगर प्रस्ताव गरिएको थिएन ।

आयोगले सदर गरेको पहिलो विकल्पमा दाङमा दुईवटा उपमहानगरपालिका प्रस्तावि गरिएको थियो । जसअनुसार जिल्लाको सबैभन्दा पुरानो घोराही नगरपालिका र तुलसीपुर नगरपालिकामा केही क्षेत्र गाभेर ती नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ । २०३५ सालमा तत्कालका गाउँ पञ्चायत हरिद्वारा, रावतगाउँ, सेवा वनगाउँ र घोराहीलाई गाभेर त्रिभुवननगर पञ्चायतको रुपमा विकास गरिएको थियो ।

झण्डै तीन दशकपछि फेरि यो नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ । ०६२/०६३ को आन्दोलनपछि नगरपालिकाको नाम परिवर्तन गरी घोराही नगरपालिका बनाइएको थियो । उपमहानगरपालिकाको लागि एक लाख ५० हजार जनसंख्या र वार्षिक १० करोड आम्दानी चाहिने प्रावधान यसअघि नै तयार गरिएको थियो । दुबै नगरपालिकामा थप क्षेत्र मिसाउँदा त्यो जनसंख्या र आम्दानीसमेत पुग्नेछ ।

त्यसैगरेर दुबै नगरपालिकाको लागि चाहिने आवश्यक पूर्वाधार केही पूरा भएको र केही थप गर्नुपर्नेछ । आयोगले तयार पारेको प्रतिवेदनमा घोराही नगरपालिकामा त्रिपुर नगरपालिका, सैघा, रामपुर, लक्ष्मीपुर, सौडियार, धर्ना गाविसलाई मिलाएर उपमहानगरपालिका बनाइएको छ । त्यसैगरेर २०४८ सालमा स्थापना भएको तुलसीपुर नगरपालिका पनि उपमहानगरपालिका बनेको छ । फूलबारी, डुरुवा, मानपुर, विजौरी र पवननगर गाविसलाई पनि यो नगरपालिकामा मिलाइएको छ ।

त्यसैगरी आयोगले तयार पारेको प्रतिवेदनमा राजपुर र बेला गाविसलाई मिलाएर राजपुर गाउँपालिका, कोइलाबास, गढवा, गंगापरस्पुर र गोबरडिया गाविसलाई मिलाएर गढवा गाउँपालिका बनाइएको छ । त्यसैगरी लालमटिया, सिसहनिया र हाँसीपुरका एक र दुई वडा मिलाएर राप्ती गाउँपालिका,  हाँसीपुर बाँकी वडा, लोहारपानी, काभे्रलाई मिलाएर बंगलाचुली गाउँपालिका बनाइएको छ ।

त्यसैगरी गोल्टाकुरी, हेकुली र श्रीगाउँ मिलाएर दंगीशरण गाउँपालिका, शान्तिनगर, बाघमारे, धनौरी मिलाएर शान्तिनगर गाउँपालिका बनाइएको छ भने पुरन्धारा र पञ्चकुलेलाई मिलाएर बबई गाउँपालिका बनाइएको छ । त्यसैगरेर लमही नगरपाकिामा सतबरिया गाविस मिलाइएको छ । प्राविधिक समितिले ईलाकालाई आधार मानेर स्थानीय तहको प्रस्ताव गरेर पठाएको थियो ।

प्रतिकृया

प्रतिकृया