प्युठान
२३-कार्तिक/ प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका-५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको र अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

मृत्यु हुनेमा प्यूठान नगरपालिका ५ पूर्णागाउँ निवासी ५२ वर्षिय मैमा घर्ती, सोही ठाउँ निवासी ४३ वर्षिय बच्ची थापा र ४६ वर्षिय खुमन थापा रहेका छन् । त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५ निवासी ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतले उद्धार गरेका थिए ।

प्रतिकृया

प्रतिकृया