रुकुम पूर्व
२७-असोज / कार्यालयलाई गुनासोरहित बनाउने अभियान थालनी गरेको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले सेवा प्रवाहलाई सरल, प्रभावकारी, पहुँचयोग्य तथा सेवाग्राहीमैत्री बनाउन हरेक दिन नयाँ कामको अवधारणा ल्याएको छ ।


                                                                                 ADVERTISEMENT



गएको भदौ महिनाबाट सुरु गरिएको गुनासोरहित जिल्ला प्रशासन कार्यालय अभियानअन्तर्गत विभिन्न रचनात्मक गतिविधि सुरुवात गरिएको र सकारात्मक प्रतिफल प्राप्त भइरहेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । भदौ महिनाको ३१ दिन नयाँ ३१ काम सम्पादन गर्यौँ’ प्रमुख जिल्ला अधिकारी राईले भने, ‘हरेक दिनमा उल्लेख योग्य काम सुरुवात गर्ने र महिनाको अन्त्यमा त्यसको समीक्षा गर्ने गरेका छौँ ।’

सेवाग्राहीलाई सरकारी सेवा प्राप्तिमा झन्झट झेल्नु नपरोस् र हरेक कार्यालयको सेवा प्रवाह नमुनायोग्य बनोस् भन्ने योजनाका साथ काम गरिएको प्रजिअ राईले उल्लेख गरे । कार्य विभाजन तथा कार्य सम्पादन करार सम्झौता गरेर वार्षिक कार्ययोजना बनाइएको र योजना अनुसारको क्यालेण्डर समेत निर्माण गरेर काम गरिरहको प्रजिअ राईको भनाइ छ ।

कोराना भाइरसको रोकथाम, नियन्त्रण, सचेतना र पूर्व तयारीको कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्नुलाई पहिलो प्राथमिकतामा राखेर अन्य सेवाहरु प्रदान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अघिल्लो महिनाका ३१ दिनका ३१ कामले यस महिनामा पनि केही नयाँ गर्न र सुखद प्रतिफलहरुलाई निरन्तरता दिन प्रेरित गरेको सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले बताइन् ।

‘हरेक घरमा कार्यालयको नागरिक वडापत्र उपलब्ध गराइदिने सोच छ’, सूचना अधिकारी समेत रहनु भएकी सहायक प्रजिअ पोखरेलले भनिन् ‘यसो हुँदा सेवाका सबै प्रकार र प्रकृति सर्वसाधारणले छर्लङ्ग बुझ्छन् ।’ विकट र दुर्गम गाउँबाट आउने सेवाग्राहीहरुले रित्तो हात फर्कनु नपरोस्, सरकारी सेवाप्रति गर्व गरुन् भन्ने मनसायले हरेक दिन सुनाउन लायक कामको सुरुवात गरिएको उनले बताए । मासिक रुपमा उत्कृष्ट कर्मचारी घोषणा गर्ने कामको सुरुवात गर्नुका साथै सरसफाई र वृक्षारोपणको कामलाई निरन्तरता दिइएको छ ।

कार्यालय परिसरमा सचेनामुलक डिजिटल बोर्ड, सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउँने, व्यवस्थित अभिलेखीकरण, कार्यालय परिसरमा करेसाबारी स्थापनालगायतका कामले सकारात्मक उर्जा प्रतिक्रिया आएको बताइएको छ । सहायक प्रजिअ पोखरेलका अनुसार, कार्यालयमा पुस्तकालय सुरु गर्न थालिएको छ भने हरेक कार्यालयलाई सूचनामैत्री बनाउन पहल थालिएको छ ।

जिल्लाका अन्य कार्यालयहरुले पनि गुनासोरहित कार्यालय बनाउन प्रतिबद्धता जनाएको सहायक प्रजिअ पोखरेलले बताइन् । जिल्ला प्रशासनको यस्तो कार्यशैली र अभियानले सेवा प्राप्ति सरल र सहज हुने विश्वास लिइएको छ ।

प्रतिकृया

प्रतिकृया