केशर रोका, बांगेशाल(प्यूठान)
१३-जेठ / बांगेशाल–७ ददेरी प्यूठानका एक दम्पत्तिले केरा खेती गरेर वार्षिक रुपमा लखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । ३१ वर्षीय विमा कुमारी कुमाल र उनका ४६ वर्षिय श्रीमान् धन बहादुर कुमालले ६ वर्षदेखि नियमित रुपमा व्यवसायिक केरा खेती गर्दै आएका हुन् ।
‘केरा बेचेरै वार्षिक झण्डै साढे तीन लाख आम्दानी हुन्छ’,विमाले भनिन्,‘सोँचे अनुसार व्यवसाय चलेको छ ।’ घरखर्च चलाउनका लागि विदेश भौतारिएका श्रीमान पनि घरफर्केर आफ्नो व्यवसायमा लागेको उनले बताईन । शुरुमा आफूले नै व्यवसाय थालेको उनको भनाई छ ।
‘एक रोपनी जग्गाबाट केरा खती शुरु गरेकी थिए’,उनले भनिन्,‘अहिले २ विघामा विस्तार गरेका छौँ ।’ यसैको आम्दानीबाट दैनिक २ हजार बढी कमाई हुने गरेको उनी बताउँछिन् ।
‘विदेशको भन्दा दोव्वर कमाई घरमै भएको छ’,विदेशबाट फर्केका श्रीमान् धन बहादुर कुमालले भने,‘यत्तिकै ४ वर्ष विदेशमा विताईयो ।’ अव कहिल्यै विदेश नजाने सम्झना गर्दे उनले व्यवसायिक रुपमा केरा खेतीलाई नै अगाडी बढाउने योजना बनाएको सुनाए ।
‘मालवाक’जातको केरा उत्पादन गरेको बताउँदै उनले ग्राहकहरुले धेरै रुचाएको बताए । ‘विक्रीका लागि कुनै समस्या छैन’,उनले भने,‘भालुवाङ–प्यूठान सडक खण्डको छेउँमै घर छ । घर नजिकै ढ्याव्री पनि राखेका छौँ, ग्राहक घरमै आउँछन् ।’ शुरुमा जिल्ला कृषि विकास कार्यालय प्यूठानले चितवनबाट लिएको केराका बेर्ना दिएपछि केरा खेतीको शुरुवात गरेको दम्पत्ती बताउँछन् ।
केराकै आम्दानीबाट दुई तले पक्की घर बनाउन सजिलो भएको उनीहरुको भनाई छ । ‘सुख्खायाममा सिंचाई गर्न धेरै समस्या थियो’,विमा कुमारीले भनिन्,‘अहिल्य राप्ती नदीबाट लिफ्ट सिंचाई पनि निर्माण गरेका छौँ ।’ धेरै वर्षदेखि बाँझो रहेको बारी केरा खेतीले सदुपयोग भएको उनीहरुले बताए