काठमान्डौ,
८ असार / आइफोन एसेम्बल गर्ने एप्पलको मूख्य पार्टनरमध्येको एक फक्सकोनले आइफोन उत्पादन कारखानालाई चीनबाट बाहिर सार्न अनुरोध गरेको छ ।
फक्सकोनका संस्थापक टेरी गोले आइफोनको उत्पादनलाई चीनाबट बाहिर सार्न एप्पललाई प्रोत्साहित गरिरहेको बताइएको छ ।
कम्पनीका शेयर होल्डरहरुको बैठकलाई सम्बोधन गर्दै गो ले भनेका छन ‘मैले चीनबाट ताइवानमा सर्नका लागि एप्पलाई भनेको छु । यो निकै सम्भव छ ।’
स्मरण रहोस् गो फक्सकोनको अध्यक्ष पदबाट राजिनामा दिने तयारीमा छन् र उनी ताइवानको राष्ट्रपति पदको चुनावमा भिड्ने योजना बनाइरहेका छन् । आफु राष्ट्रपतिमा लड्ने भएकाले पनि उनले एप्पललाई चीनबाट ताइवानमा सर्न प्रोत्साहित गरिरहेका छन् ।
चीन र अमेरिकाबीच पछिल्लो समयमा व्यापार युद्ध चर्किरहेको समयमा फक्सकोनका अध्यक्षको यस्तो भनाईलाई निकै गम्भीर रुपमा लिइएको छ ।
चीनका थप ३ खर्ब डलरका आयातित सामानमा कर लगाउने धम्की ट्रम्प प्रशासनले दिइरहेको छ । साथै चिनिया स्मार्टफोन जाएन्ट हुवावेलाई समेत अमेरिकाले कालोसूचिमा राखेर प्रतिबन्धित गरेको छ ।
निक्केई एसियन रिभ्यूको पछिल्लो रिपोर्ट अनुसार चीनबाट आफ्ना प्रडक्टको १५ देखि ३० प्रतिशत सम्म उत्पादन दक्षिणपूर्वी एसियाली मुलुकहरुमा सार्ने एप्पलको योजना छ ।
चीन र अमेरिका बीचको व्यापार तनावले जस्तो सुकै रुप लिएपनि चीनबाट विस्तारै बाहिर निस्किने योजना एप्पलको छ ।
चीनमा न्यून जन्मदर, उच्च श्रमिक ज्यालादरका साथै केवल एउटा देशमा मात्र उत्पादनलाई केन्द्रित गर्नुका जोखिमलाई मध्यनजर गर्दै एप्पलले यस्तो योजना बनाएको बताइएको छ ।