फोटो :फाइल फोटो
वैशाख ७ / प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जाकार्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औं तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वाषिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाको विदाईका लागि त्रिभुवन विमानस्थलमा सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीहरु, मुख्य सचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका उच्च पदस्थ पदाधिकारी, विदेशी नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन जकार्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोत्सव वाङ्डुङ सहरमा यही वैशाख ११ गते आयोजना हुनेछ । समारोहमा एसिया तथा अफ्रिकीका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तराष्ट्रिय सघंठनका प्रतिनिधिको सहभागिता रहनेछ ।

यसैबिच एसियाली–अफ्रिकी मन्त्रिस्तरीय बैठकमा भाग लिनका लागि इन्डोनेसियाको राजधानी जकार्तामा रहनुभएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र उहाँका इन्डोनेसियाली समकक्षी रन्टो आरपी मार्सुडीबीच भेटवार्ता भएको छ । भेटवार्तामा पारस्परिक सम्बन्ध विस्तारका साथै दुइ देशबिचको आर्थिक सहयोगाक बिषयमा पनि छलफल भएको छ । यस्तै सरकारी र कूटनीतिक राहदानीवाहकलाई एक अर्काले प्रवेशाज्ञा भिसाको अनिवार्यता हटाउने बिषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिनुभयो । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका मुख्यसचिवको चौथो बैठक आगामी वर्ष नेपालमा हुने भएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा सम्पन्न सार्क मुलुकका मुख्यसचिवको बैठकले उक्त निर्णय गरेको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ । रासस

प्रतिकृया

प्रतिकृया