आशिष केसी,तुलसीपुर
९-कात्तिक/ पछिल्लो समय व्यवसायिक फूल खेतीमा रमाउने मानिसहरुको संख्या वृद्धि हुँदै गइरहेको छ । पहिले पहिले शौखका रुपमा मात्रै फूल रोप्दै आएका मानिसहरु अहिले भने व्यवसायिक बन्दै गएका छन् । दाङका विभिन्न ठाउँमा फूलखेति गरिदै आएको छ । हिन्दु धर्मावलम्बीहरुमा विभिन्न पूजाआजा तथा शुभकार्यमा फूल नभई नहुने हुन्छ । त्यस्तै चाडपर्वमा त झन यसको माग बढ्ने गर्दछ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिदै छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई हजारी अर्थात् सयपत्री र मखमलीको माला लगाई दिने प्रचलन रहेको छ । त्यस्तै तिहारको बेलामा पूजापाठमा पनिहजारी फुलको प्रयोग बढी हुने गर्दछ । तिहारलाई लक्षित गरेर जिल्लाका विभिन्न ठाउँमा फूल खेति गरिएको छ । तर फूलको मागभने सोचे अनुसार नभएको व्यवसायीहरुको भनाई छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दोघरेमा ५ जना युवाहरुले संयुक्त लगानीमा फूल खेति गरेका छन् । करिब ३ महिनाअघि ७ कठा जग्गा भाडामा लिएर फूल खेति सुरु गरिएको हो । आहा अभियान दाङका संयोजक दिपक काफ्लेलगायत अन्य अभियन्ताहरु झग्गु भण्डारी, अर्जुन भट्राई, मोहन वली रविषेश खड्काको संयुक्त लगानीमा फूल खेति गरिएको अभियानका संयोजक दिपक काफ्लेले बताए ।

विभिन्न सामाजिक कामहरु गर्दै आएकोे समूहले व्यवसायीक रुपमा फूल खेति सुरु गरेको हो । फूलको उत्पादन राम्रो भए पनि माग भने सोचे अनुसार नभएको काफ्लेले बताए । बजारमा पाईने कृतिम फूलले पनि फूलको माग नभएको उनको भनाई छ । तिहार सुरु भएदेखि नै घर सिङ्गार्नदेखि लिएर पूजा सामग्री तथा मालाको रुपमा पनि फूल चाहिने गर्दछ । तर, पछिल्लो समय तिहार पर्व पनि आधुनिक बन्न थालेको छ । तिहार पर्वमा प्लाष्टिकको दियो, पालामात्र हैन अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृतिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ । पछिल्लो समय युवाहरु विदेशिने लहर चलिरहेको बेला स्वदेश मै केही गरौं भन्ने उद्देश्यले फूलखेति सुरु गरेको अर्का व्यवसायी झग्गु भण्डारीले बताए ।

तिहारलाई लक्षित गरी फूल खेति गरे पनि बजार भने सोचे जस्तो नभएकोले अहिले सामाजिक सञ्जाल र अन्य माध्यमबाट अर्डर लिने काम भईरहेको उनले बताए । विशेष गरी चाडपर्वको सरी अर्थात् सयपत्री फुलको अत्याधिक प्रयोग हुने भन्दै यसै समयलाई लक्षित गरेर उत्कृष्ट जातको फूल दाङमै उत्पादन सुरु गरिएको उनको भनाई छ । अविरल बर्षाले फूल खेतिमा समेत केही क्षति गरेको उनले बताए । फूलको कोपीलामा केही क्षति गरेको भए पनि फक्रिसकेको फूलमा भने त्यति क्षति भएको छैन । उनले भने– ‘कलकत्ते हजारी अलि खँदिलो हुने भएकोले पनि धेरै क्षति हुनबाट जोगियो ।’ हजारी फूल सबैभन्दा राम्रो फुल्ने र टिक्ने भएकाले यसको माग अन्य फूलको तुलनामा धेरै रहेको छ ।

तर पछिल्लो समय बजारमा हजारी फुल भन्दा अन्य कृतिम फूलहरुको माग बढेको व्यवसायीहरुको भनाइ छ । तिहार पर्वमा समेत लाखौँं मूल्य बराबरको कृतिम फूलको मालाहरु विक्रि हुने गरेको व्यवसायीहरुको भनाई छ । तिहारमा सकेसम्म बजारमा पाईने कृतिम फूल प्रयोग नगरी गाउँघरमा पाईने हजारी र मखमली फूल नै प्रयोग गरी संस्कृति बचाउनुपर्ने तुलसीपुर निवासी कमला केसीले बताइन् । तुलसीपुर क्षेत्रमाफुल खेति नहुँदा विभिन्न शुभकार्यको लागी समस्या हुने गरेको भए पनि अहिले भने सोही फूलबारीबाट आवश्यक फुल ल्याउने गरेको उनको भनाई छ । फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएको र नेपालले विदेश निर्यात गरेर पनि प्रशस्त आम्दानी गर्न सक्ने भएकोले सरकारले गाउँगाउँमा किसानहरुलाई प्राविधिक सीप सिकाउनु पर्ने व्यवसायीहरुको भनाई छ ।

प्रतिकृया

प्रतिकृया