जयन्ती चौधरी,तुलसीपुर
१४-मंसिर/ तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आएको ५ बर्ष पुरा हुँदैछ । जनप्रतिनिधी आएपछि उपमहानगरमा बालबालिकाका लागि बाल संरक्षण निति बनेका उपमहानगरपालिकाको भनाई छ । तर उपहानगरपालिकाभित्र विभिन्न क्षेत्रमा बालश्रम गरीरहेका बालबालिकाहरु अझै पनि उतिकै देखिने गरेका छन् । उपहानगरपालिकालाई बालश्रम मुक्त उपमहानगरपालिका बनाउने लक्ष्य राखेको भन्दै उपमहानगरपालिकाको वडाहरुमा बालश्रम मुक्त बनाउनका लागि कसरत भैरहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले बताइन् ।

‘बालबालिकाहरुका लागि बाल संरक्षण निती बनाएका छौं, उक्त नितीमा टेकेर कार्यान्वयन गराउनमा पनि अग्रसर छौं, अधिकृत श्रेष्ठले भनिन् ।’ उक्त नितीमा टेकेर बालबालिकाहरुका लागि बालहित कोषको स्थापना, जोखिममा परेका तथा संरक्षण विहिन बालबालिकाका लागि केही समयसम्म बस्नको लागि ‘ट्रान्जीट होम’ को व्यवस्थापन, स्मार्ट छोरी बिहे वारी बीस वर्ष पारी भन्ने कार्यक्रम सञ्चालन र बाल श्रम मुक्त वडा घोषणाका लागि अभियान सञ्चालन लगायतका कार्यविधि बनाएर कामलाई अगाडी बढाइ रहेको महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत श्रेष्ठको भनाई छ ।

नेपालमा बालबालिकाका लागि बनेको ऐन २०७५ ले दिएको व्यवस्थाअनुसार स्थानीय तहमा बालअधिकार समिती बनाउने सकिने अधिकार स्वरुप उक्त कानुनलाई टेकेर तुलसीपुर उपमहानगरपालिकामा पनि नगर स्तरीय बालअधिकार समिती बनेको श्रेष्ठले जानकारी दिइन् । सो समितीले बाल अधिकारसंग सम्बन्धीत एउटा कार्यविधि पनि बनाएको उनको भनाइ छ । उक्त कार्यविधिलाई कार्यान्वयन गर्दै वडा वडामा बाल अधिकार समिती गठन, बालबालिकाहरुको संजाल निमार्ण गर्ने गरेको उनले बताइन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले सहरा विहिन तथा जोखिममा परेका बालबालिकालाई ‘ट्रान्जित होम’का रुपमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाँउमा रहेको दिदी घर संस्थामा व्यवस्थापन गर्दै आएको छ । हाल दिदी घर संस्थामा बेसहारा, तुहुरा गरी २२ जना बालबालिकाहरुलाई आश्रय दिएको दिदीघर संस्थाकी अध्यक्ष स्यानी चौधरीले बताइन् । दिदीघर संस्थाकी अध्यक्ष चौधरीका अनुसार संस्थामा हाल ११ जना बालिका र ११ जना बालक गरी २२ जना बालबालिकाहरु रहेका छन् । दिदीघर संस्थाकी अध्यक्ष स्यानी चौधरीले असहाय, अनाथ, गरीब, जोखिममा परेका बालबालिकाहरुलाई संरक्षण दिदै आएकी छिन् । उनले २२ जना बालबालिकाहरुलाई गाँस, बाँस, कपासको व्यवस्थापन आफू एक्लैले गर्दै आएको बताउछिन् ।

‘पहिले थोरै बालबालिका थिए, गाँस, बाँस, कपासको समस्या थिएन, तर अहिले धेरै बालबालिकाहरु छन्, उनीहरुलाई गाँस, बाँस, कपास, शिक्षा प्रदानलगायतको व्यवस्थापनमा समस्या आएको भनिन् ।’ साथै उनले बालक र बालिकाका लागि छुट्टा छुट्टै भवन निमार्ण प्रक्रिया अगाडी बढाएको र सम्भवतः आगामी आर्थिक वर्षदेखि बालक र बालिकालाई छुट्टै भवनमा स्थानान्तरण गर्ने बताइन् ।

उनको संस्थामा अहिले दुई वर्षदेखि २२ वर्ष उमेर समूहका बालबालिकाहरुले आश्रय लिएर बस्दै आएका छन् । उनलाई संस्था चलाउनका लागि आगामी दिनमा आर्थिक समस्या झेल्नु पर्ने होकी डर छ । ‘हाललाई भने केहीले आफ्नो जन्मदिन मनाउने बहानामा सहयोग गरेको रकम, कुनै संघ संस्थाले सहयोग गरेको रकम र तुलसीपुर उपमहानगरपालिकाले ‘ट्रान्जित होम’ भनेर गर्दै आएको सहयोगले जेनतेन चलिनै राखेको छ, आगामी दिनमा बालक र बालिकालाई छुट्टै व्यवस्थापन गर्दा आर्थिक भार बढ्न सक्छ’, उनी भन्छिन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा बाल क्लबको गठन वडा, नगरमा भएका छन् । तर काम भने सोचे अनुरुपको हुन सकेको छैन् । तुलसीपुरमा भरखरै मात्रै तुलसीपुर बाल क्लबको नयाँ नेतृत्वका रुपमा चयन भएर आएका शिशिर गिरीले बताए ।

यसअघि उनी वडा स्तरीय बाल क्लबको नेतृत्व सहमालिसकेको बताउदै उनले वडामा भनेअनुरुपको काम गर्न नसकिएता पनि अब नगरस्तरबाट बालबालिकाहरुको हकहितका लागि काम गर्ने बताए । बालबालिकाहरुले हिंसा, दुव्र्यवहार, उत्पीडन लगायतका समस्याहरुको सामना गर्नु पर्ने भएकोले यस्तो व्यवहार कोही कसैले पनि नगर्न आग्रह गरेका छन् ।

प्रतिकृया

प्रतिकृया